Skip to main content

च्याटजीपीटीले नयाँ औषधि खोज्ने नयाँ मोडेल ‘जीपीटी-रोजालिन्ड’ सार्वजनिक गर्‍यो

च्याटजीपीटीका निर्माता कम्पनी ओपन एआईले एउटा विशेष कृत्रिम बौद्धिकता मोडेल सार्वजनिक गरेको छ। यसलाई जीपीटी-रोजालिन्ड नाम दिइएको छ, जसले नयाँ औषधि खोज्ने र औषधि अनुसन्धानलाई तीव्र गतिमा अगाडि बढाउने बताइएको छ। बिहीबार सार्वजनिक गरिएको यो एआई मोडेल विशेष रूपमा जैविक विज्ञान अनुसन्धानका लागि विकास गरिएको हो। प्रविधि कम्पनीहरूबीच चिकित्सा क्षेत्रमा एआई प्रयोग बढाउनको लागि प्रतिस्पर्धा तीव्र हुँदै छ।

ओपन एआईको यो नयाँ मोडेलले औषधि क्षेत्रका वैज्ञानिक अनुसन्धानहरूलाई नयाँ दिशा प्रदान गर्ने अपेक्षा गरिएको छ। लामो समयदेखि अनुसन्धान भइरहेको रोगहरूको औषधि विकासमा यो मोडेलले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। जीपीटी-रोजालिन्डले ठूलो डाटाबाट महत्वपूर्ण जानकारी निकाल्न र वैज्ञानिक अध्ययनलाई व्यवहारिक स्वास्थ्य सेवामा रुपान्तरण गर्न सहयोग गर्नेछ। हाल यसको प्रारम्भिक संस्करण प्रस्तुत गरिएको छ र परीक्षणको रूपमा केही व्यावसायिक ग्राहकलाई उपलब्ध गराइनेछ।

यसका प्रारम्भिक प्रयोगकर्ताहरूमा औषधि कम्पनी आमगेन इंक, खोप निर्माता मोर्डैना र बायोसाइन्स अनुसन्धान संस्था अलेन इन्स्टिच्यूट रहेका छन्। सम्झनयोग्य कुरा के हो भने कोडिङ, विज्ञान र साइबर सुरक्षाजस्ता क्षेत्रमा काम गर्ने उन्नत एआई मोडेल विकासमा ओपन एआई र यसको प्रतिस्पर्धी एन्थ्रोपिकबीच प्रतिस्पर्धा तीव्र छ। यी मोडेलहरूको उद्देश्य एआईको प्रयोगले समय र लागत दुवै कटौती गर्न सकिन्छ भन्ने विश्वास कम्पनीहरूलाई दिलाउनु हो।