Skip to main content

९ महिनामा ३४ अर्बभन्दा बढीको मोबाइल आयात

चालु आर्थिक वर्षका ९ महिनामा स्मार्टफोन आयात गत वर्षभन्दा ८९ हजार २ सय ९३ थानले वृद्धि भई कुल १६ लाख ७४ हजार २ सय ४९ थान पुगेको छ। यस अवधिमा चीनबाट १४ लाख १० हजार ९ सय ३५ थान र भारतबाट २ लाख ५५ हजार ८ सय २० थान स्मार्टफोन आयात भएको छ। सरकारले चालु आवको ९ महिनामा मोबाइल आयातबाट ६ अर्ब ३० करोड ८७ लाख ६१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। ७ वैशाख, काठमाडौं।

नेपाली बजारमा पछिल्लो समय स्मार्टफोनको माग र प्रयोगमा उल्लेख्य वृद्धि देखिएको छ। भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षका ९ महिनामा स्मार्टफोन आयात अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा बढेको छ। सो अवधिमा गत आवको सोही अवधिभन्दा ८९ हजार २ सय ९३ थान बढी स्मार्टफोन नेपाल भित्रिएको छ। विभागको तथ्यांकअनुसार चालु आवका ९ महिनामा ३३ अर्ब ८२ करोड २५ लाख ८५ हजार रुपैयाँ बराबरका १६ लाख ७४ हजार २ सय ४९ थान स्मार्टफोन आयात भएका छन्।

चालु आवको चैत महिनामात्र पनि ३ अर्ब ८८ करोड ६६ लाख ३९ हजार रुपैयाँ खर्च गरी १ लाख ४५ हजार ७ सय ५४ थान स्मार्टफोन भित्राइएको थियो। नेपालमा भित्रिने स्मार्टफोनमध्ये सबैभन्दा ठूलो हिस्सा चीनबाट नै आएको छ। चालु आवमा चीनबाट २५ अर्ब ६५ करोड ६२ लाख ७६ हजार रुपैयाँ बराबरका १४ लाख १० हजार ९ सय ३५ थान स्मार्टफोन आयात गरिएको बताइएको छ।

चीनपछि भारतबाट पनि धेरै मोबाइल नेपाल भित्रिएका छन्। चालु अवधिमा भारतबाट ७ अर्ब ५९ करोड ४८ लाख ५१ हजार रुपैयाँ बराबरका २ लाख ५५ हजार ८ सय २० थान स्मार्टफोन आयात भएको देखिन्छ। स्मार्टफोन आयातको यो वृद्धिले सरकारको राजस्व संकलनमा पनि सकारात्मक प्रभाव पारेको छ। चालु आर्थिक वर्षका ९ महिनामा मोबाइल आयातबाट मात्र सरकारले ६ अर्ब ३० करोड ८७ लाख ६१ हजार रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ।