Skip to main content

नवलपुरका गाउँमा पोल पुग्दा पनि विद्युत् वितरणमा ढिलाइ

नवलपुरको बुलिङटार गाउँपालिकाका अर्खला, देउराली लगायतका गाउँमा विद्युत् तार र पोल पुगेको भए पनि अझै बिजुली वितरण हुन सकेको छैन। ठेकेदार युनिकर्न कन्स्ट्रक्सनको लापरबाहीका कारण विद्युत् वितरणमा ढिलाइ भएको कुरा नेपाल विद्युत् प्राधिकरण कावासोती वितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीले बताए। गण्डकी प्रदेश सरकारको उज्यालो गण्डकी प्रदेश कार्यक्रमअन्तर्गत बाँकी संरचना निर्माण गरेर छिट्टै उक्त क्षेत्रका गाउँहरूमा बिजुली बाल्ने तयारी भइरहेको उनले जानकारी दिए। ८ वैशाख, त्रिवेणी।

नवलपुरको पहाडी क्षेत्रमा विद्युत्का तार र पोल पुगेको भए पनि अझै विद्युत् वितरण हुन सकेको छैन। जिल्लाको बुलिङटार गाउँपालिकाको अर्खला, देउरालीलगायतका विभिन्न गाउँमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुग्न सकेको छैन। बुलिङटार गाउँपालिका–४ को अर्खलामा विद्युत् वितरणका संरचना तार, पोललगायत निर्माण भएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि बिजुली वितरण हुन नसकेको वडाध्यक्ष मीनबहादुर आलेले बताए। उक्त वडाकै देउरालीका बासिन्दाले विद्युत् मिटर जडानका लागि शुल्क बुझाएको लामो समय भए पनि बिजुली नपाएको उनले जानकारी दिए।

विद्युत् प्राधिकरणले बोझा पोखरीमा विद्युत् सबस्टेसन सञ्चालन गरेको छ, तर सबस्टेसनबाट ७/८ किलोमिटर पर रहेका गाउँहरू अझै अँध्यारोमा बस्न बाध्य छन्। केही गाउँहरू भने लघु जलविद्युतमा निर्भर हुनुपरेको वडाध्यक्ष आलेले बताए। अर्खलामा लघु जलविद्युतबाट बत्ती बालिए पनि आवश्यकताअनुसार विद्युत् उपभोग गर्न सकिएको छैन। ‘लघु जलविद्युत् छ, तर त्यो राति मात्र चल्छ, दिनभरि केन्द्रको बिजुलीका तार र पोल हेरेर बस्नु बाहेक विकल्प छैन’, अध्यक्ष आलेले भने।

बिजुली नहुँदा वडा कार्यालयले प्रदान गर्ने सेवाहरू पनि प्रभावित भएका छन्। ‘वडा कार्यालयमा दिउँसो सोलार छ, तर घाम नलाग्दा चल्दैन, अहिले धेरै सेवा प्रविधिसँग जोडिएका छन्, त्यसैले सेवाग्राहीलाई फर्काउनु पर्ने अवस्था छ। बिजुली आएपछि यो समस्या हट्ने थियो,’ वडाध्यक्ष आलेले भने। दिनमा कसैको घरमा विवाह, पूजा आदि कार्यक्रम परेमा पहिले नै सूचना दिएर लघु जलविद्युत सञ्चालन गर्नुपर्ने हुन्छ। उक्त लघु जलविद्युतबाट सामान्य बत्ती मात्रै बाल्न सकिन्छ र धेरै विद्युतीय उपकरण चलाउन सकिंदैन, उनले बताए।

‘ठेकेदारको लापरबाहीका कारण ढिलाइ’ विद्युत् वितरण केन्द्र कावासोतीका प्रमुख शिवनारायण गोशलीका अनुसार ठेकेदारले समयमै काम नगरेपछि विद्युत् विस्तार ढिलाइ भएको हो। विद्युत् वितरण पूर्वाधार निर्माणको जिम्मा पाएको युनिकर्न कन्स्ट्रक्सनले काम समयमा सम्पन्न नगरेकोले ती क्षेत्रमा बिजुली वितरण गर्न नसकेको उनले बताए। गण्डकी प्रदेश सरकारको ‘उज्यालो गण्डकी प्रदेश’ कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७६/७७ मा यस क्षेत्रमा काम अघि बढाइएको थियो। ठेकेदार कम्पनीलाई निरन्तर ताकेता गरिरहेको र बाँकी संरचना छिट्टै निर्माण गरी क्षेत्रका गाउँहरूमा बिजुली बाल्ने तयारी भइरहेको कार्यालय प्रमुख गोशलीले जानकारी दिए। देउराली, अर्खला, सिङ्च्याङ हुँदै कालीगण्डकी करिडोरको कोखेटारसम्म छिट्टै विद्युत् पुर्‍याइने उनको भनाइ छ। ‘हामीले विद्युत् संरचना निर्माण सक्न ताकेता गरिरहेका छौँ, सायद छिट्टै काम सकिएर विद्युत् वितरण सुरु हुनेछ,’ गोशलीले भने।