
८ वैशाख, काठमाडौं । बालअधिकार संरक्षण र प्रवर्द्धनका लागि सरकार, सञ्चार माध्यम र नागरिक समाजले निरन्तर सतर्कता अपनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) ले सोमबार आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताहरूले बालबालिकाका अधिकारहरूमा हुने उल्लंघनविरुद्ध निरन्तर आवाज उठाउनुपर्ने बताएका छन्। बालविवाह, बालश्रम अन्त्य, शिक्षा, स्वास्थ्य उपचार र पोषणजस्ता विषयमा सतर्क रहन आवश्यक रहेको उनीहरूले बताए।
त्रिवि पत्रकारिता तथा आम सञ्चार विभाग प्रमुख प्रा.डा. कुन्दन अर्यालले बालअधिकारका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। उनले विश्वभर १९९० देखि बालअधिकारको विषयमा आवाज उठ्न थालेको उल्लेख गर्दै भने, ‘यस क्षेत्रमा निरन्तर प्रयासका कारण केही राम्रो अभ्यासहरू देखिएका छन्, तर एउटै वा एक दशकको पहलले मात्र बालअधिकार प्रवर्द्धन संभव हुँदैन।’ अर्यालले सधैं वकालत गर्न, लेख्न र योजनाबद्ध ढंगले राज्यले काम गर्न दबाब दिनुपर्ने अवस्था रहेको बताए।
उनका अनुसार, नेपालले सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने नीति बनाएको भए तापनि हाल बालविवाह न्यूनीकरणकै चरणमा छ। आगामी चार वर्ष भित्रै बालविवाह अन्त्य हुने विश्वास त्यति धेरै गर्दैनन् उनी। सबै बालबालिकाले शिक्षा, स्वास्थ्य, पोषण र जन्मदर्ता जस्ता अधिकार पाउने सुनिश्चितता नदिने कार्यक्रम तथा बजेट अभावमा रहेको अर्यालले जानकारी दिएका छन्।
बालबालिका शान्तिक्षेत्र अभियानका अध्यक्ष तिलोत्तम पौडेलले बालबालिकाले सुरक्षित वातावरणमा निडर भएर बाँच्न, पढ्न, खेल्न र हुर्कन पाउनु पर्ने अधिकार सुनिश्चित गर्न सबै पक्षले काम गर्नुपर्नेमा जोड दिए। उनले स्वास्थ्य, शिक्षा र पोषणका अधिकार सुरक्षित गर्न नागरिक समाज, सञ्चार माध्यम, स्थानीय तह र सरकारको भूमिकाबारे विचार व्यक्त गरे।
पौडेलले बालबालिकासम्बन्धी ऐनहरू एकीकृत गर्नुपर्ने आवश्यकता औंल्याउँदै, बालअधिकारसम्बन्धी ऐन, बालश्रमसम्बन्धी ऐन र अन्य कानुनहरूमा अन्तर हुँदा कार्यान्वयनमा समस्या आउने र बालबालिकामाथि अन्याय हुनेछ उल्लेख गरे। साथै, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, अन्तरलिङ्गी बालबालिका र आवश्यक संरक्षणका लागि छुट्टै आयोग वा उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने आवश्यकतामा पनि उनी दृढ छन्।
राष्ट्रिय बालअधिकार परिषदलाई स्रोत–साधन सम्पन्न बनाई स्थानीय तहमा बालबालिकाका लागि छुट्टै बजेटसहित आवश्यक संयन्त्र स्थापना गर्न सञ्चार माध्यमले निगरानी गर्नुपर्नेमा पौडेलले जोड दिए। कार्यक्रममा इन्सेक नेपालका सूचना अधिकारी कृष्ण गौतम, पत्रकार प्रकाश सिलवाल, सञ्चारकर्मी पुष्पा अधिकारी, सफलता भण्डारी, सन्तोष पौडेल, देवी सापकोटा र प्लान इन्टरनेशनल नेपालका नीति पैरवी व्यवस्थापक इर्साद अन्सारीले पनि आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए।






