
सन् १९७० को दशकमा चर्चित सङ्गीतिक समूह ‘द ओस्मण्ड्स’ का संस्थापक एलेन ओस्मण्डको ७६ वर्षको उमेरमा अमेरिकाको युटास्थित निवासमा निधन भएको छ। एलेन ओस्मण्डले विगत ४० वर्षदेखि मल्टिपल स्क्लेरोसिससँग जुधिरहेका थिए र उनको निधनको बेला श्रीमती र आठ छोराहरूको साथमा थिए। मेरिल ओस्मण्डले एलेनलाई प्रतिभाशाली सिर्जनाकर्ता र गहिरो प्रेम गर्ने आत्मा भन्दै सामाजिक सञ्जालमा अन्तिम संवाद साझा गरेका छन्। ८ वैशाख, काठमाडौं।
स्रोतका अनुसार सोमबार राति स्थानीय समय अनुसार ८:३० बजे अमेरिकाको युटास्थित आफ्नै निवासमा उनको निधन भएको हो। एलेनको निधनपछि उनका भाइ मेरिल ओस्मण्डले एक भावुक विज्ञप्ति जारी गर्दै आफ्ना प्रिय दाजुलाई प्रतिभाशाली सिर्जनाकर्ता, आस्थावान पुरुष र गहिरो प्रेम गर्ने आत्मा रूपमा स्मरण गरेका छन्। मेरिलले सामाजिक सञ्जाल फेसबुकमा आफ्ना दाजुसँगको अन्तिम संवाद साझा गर्दै एलेनले मर्ने बेलामा पनि आफूहरूले सिर्जना गरेको सङ्गीतिक योजना र सन्देशलाई मानिसहरूमाझ पुर्याउन आग्रह गरेको उल्लेख गरेका छन्।
मेरिलले एलेनको जीवन वर्षहरूमा मात्र नभई उनले देखाएको प्रेम, बलिदान र उद्देश्यका आधारमा मापन गरिनुपर्ने भन्दै अब आफ्ना दाजु सम्पूर्ण पीडाबाट मुक्त भएर शान्तिमा रहेको बताएका छन्। एलेन ओस्मण्ड केवल आठ वर्षको उमेरमा आफ्ना भाइहरूसँग मिलेर ब्याण्डको नेतृत्व सम्हाल्न सुरु गरेका थिए। उनलाई उनका भाइहरूले ‘नम्बर १’ भनेर बोलाउने गर्दथे। एलेन, वेन, मेरिल, जे र डनी मिलेर बनेको यो दाजुभाइको समूहले अन्तर्राष्ट्रिय सङ्गीत जगतमा आफ्नो छुट्टै पहिचान बनाएको थियो।






