Skip to main content

कांग्रेसले संविधान संशोधनसम्बन्धी आन्तरिक छलफल सुरु गर्यो

८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनका लागि सुझाव संकलन गर्ने समितिले मंगलबारदेखि आफ्नो काम सुरु गरेको छ। पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठित १७ सदस्यीय समितिले पहिलो बैठक बस्दै काम अगाडि बढाएको हो। सो बैठकमा पार्टी सभापति गगन थापा, महामन्त्री प्रदीप पौडेल, सहमहामन्त्रीद्वय उदयशमशेर राणा र योगेन्द्र चौधरी पनि सहभागी थिए। बैठकमा पार्टी सभापति थापाले संविधान संशोधनको आवश्यकताबारे र समितिको जिम्मेवारीबारे जानकारी दिएका थिए।
थापाले संविधान बनेको १० वर्षभन्दा बढी भइसकेको हुनाले अभ्यासका क्रममा देखिएका केही बेथितिलाई संशोधन गर्नुपर्ने भाव व्यक्त गरे। लोकतन्त्र, नागरिक अधिकार, राष्ट्रियता र समृद्धिलाई केन्द्रविन्दु बनाएर संविधान संशोधनको छलफल गर्न समितिका पदाधिकारीलाई आग्रह गरेका थिए।
समितिका सदस्य सचिव राजु कटुवालका अनुसार संविधानको सूक्ष्म अध्ययन गरी संशोधनसम्बन्धी मस्यौदा तयार पार्ने र सरोकारवाला, विज्ञ तथा सबै तहका नागरिकसँग व्यापक छलफल गर्ने योजना बनाइएको छ। यस्तै, सरकारले शुक्रबारसम्म कांग्रेसबाट संविधान संशोधन विषयक बहसपत्र तयार गर्नका लागि प्रतिनिधिको नाम पठाउन अनुरोध गरेको समितिमा जानकारी गराइएको थियो। समितिमा वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेमबहादुर खड्का, उपेन्द्रकेशरी न्यौपाने, शेरबहादुर केसी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी, दिनेश त्रिपाठी, सिताराम केसी, ललितबहादुर बस्नेत, साथै अधिवक्ताहरू रनबहादुर थेवे, शर्मिला श्रेष्ठ, झलमाया बिक र निरज गुप्ता सदस्य रहेका छन्।