Skip to main content

सिंहदरबारमा प्रदर्शन गर्दा पक्राउ परेका नेविसंघका कार्यकर्तालाई छोड्न कांग्रेसको आग्रह

९ वैशाख, काठमाडौं । सिंहदरबारभित्रै सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गर्ने क्रममा नेविसंघका नेताहरू पक्राउ परेको भन्दै नेपाली कांग्रेसले ध्यानाकर्षण भएको जनाएको छ। कांग्रेस प्रवक्ता देवराज चालिसेले एक वक्तव्य जारी गर्दै मंगलबार पक्राउ परेका नेविसंघका नेताहरू भुवन भट्ट, कुम्भराज देउवा, नविन विष्ट, आकाश देवकोटा, शुशील ऐडी र विशाल विसीलाई पक्राउ गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

‘लोकतान्त्रिक शासन व्यवस्थामा वाक तथा प्रकाशनको स्वतन्त्रता, शान्तिपूर्ण रूपमा हिँडडुल गर्ने अधिकार तथा विरोध वा असहमति प्रकट गर्ने स्वतन्त्रता नागरिकका मौलिक अधिकारहरू हुन्,’ वक्तव्यमा उल्लेख गरिएको छ, ‘यस्ता अधिकारहरूको प्रयोगका क्रममा नागरिकलाई पक्राउ गरी थुनामा राख्ने कार्यले लोकतन्त्रका आधारभूत मूल्य, विधिको शासन तथा नागरिक स्वतन्त्रताको प्रत्याभूतिमाथि गम्भीर प्रश्न खडा गर्दछ। असहमतिलाई नियन्त्रण गर्ने र दमन गर्ने सरकारको यस्तो शैली लोकतान्त्रिक मान्यता एवं संविधानको मर्म विपरीत छ।’

पक्राउ परेका नेपाल विद्यार्थी संघका नेताहरूलाई विना शर्त तत्काल रिहा गर्न कांग्रेसले माग गरेको छ।