कार्ल्सबर्गको प्राथमिकता जलस्रोत संरक्षण, नेपालमा १० अर्ब रुपैयाँ लगानी गर्ने योजना

कार्ल्सबर्ग समूहले डब्लूडब्लूएफ डेनमार्कसँगको साझेदारीमा नेपालमा जलस्रोत संरक्षण र पानीको दिगो व्यवस्थापनमा आफ्नो ध्यान अझ सुदृढ बनाएको छ। सन् २०२६ देखि २०२८ सम्म सञ्चालन हुन लागेको तीन वर्षे योजनामा सिमसार क्षेत्र पुनर्स्थापना र पानीको उपलब्धता सुधार गर्ने लक्ष्य राखिएको छ। कम्पनीले नेपाललाई प्राथमिकता बजार मान्दै १० अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जाहेर गरेको छ र दिगो विकास तथा स्थानीय उत्पादन सुदृढीकरणमा जोड दिएको छ।
कार्ल्सबर्गले जलस्रोत संरक्षणमा आफ्नो ध्यान अझ गहिरो बनाउन थालेको छ। डब्लूडब्लूएफ डेनमार्कसँगको सहकार्यमार्फत कम्पनीले पानीको दिगो व्यवस्थापनमा विशेष महत्व दिएको छ। ब्रुअरी उद्योगका लागि पानी अत्यन्त नै महत्त्वपूर्ण साधन भएकाले कम्पनीले पानीको दक्ष उपयोगसँगै भू-जल पुनर्भरण र सिमसार क्षेत्र पुनर्स्थापनामा सक्रियतापूर्वक काम गरिरहेको जनाएको छ। यी प्रयासहरू दीर्घकालीन वातावरणीय दिगोपना सुनिश्चत गर्ने रणनीतिक योजनाअन्तर्गत सञ्चालन भइरहेका छन्।
सन् २०२६ देखि २०२८ सम्म सञ्चालन हुने योजनाअन्तर्गत देशका विभिन्न भागमा बिग्रिएका सिमसार क्षेत्र पुनर्स्थापना तथा पानीको आपूर्ति सुधार गर्ने कम्पनीको लक्ष्य छ। यसले नदी-नालाको तहसम्म पानीको दीर्घकालीन सन्तुलन कायम गर्न सहयोग पुग्नेछ। उक्त कार्यक्रम डब्लूडब्लूएफ वाटर रिस्क फिल्टरको मार्गदर्शनमा सञ्चालन भइरहेको छ जसले कम्पनीका सञ्चालन र आपूर्ति श्रृंखलामा पानीसँग सम्बन्धित जोखिम पहिचान र व्यवस्थापनमा तथ्यमा आधारित दृष्टिकोण अपनाउन मद्दत गर्नेछ। नेपाललाई कार्ल्सबर्गले रणनीतिक रूपमा प्राथमिकता प्राप्त बजारको रूपमा लिएको छ। कम्पनीले हालै १० अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाउँदै दिगो विकास, स्थानीय उत्पादन सुदृढीकरण तथा दीर्घकालीन साझेदारी विस्तारमा जोड दिएको छ।






