Skip to main content

सेयर बजारमा उतारचढाव, ३ कम्पनीको मूल्यमा १५ प्रतिशत वृद्धि

बुधबार नेप्से परिसूचक २.९५ अंकले घटेर २८०४ अंकमा स्थिर भएको छ। गृहमन्त्री सुधन गुरुङले साढे २ बजे राजीनामा दिएपछि नेप्से २८१८ अंकसम्म पुगेको थियो। आजको कारोबार रकम ७ अर्ब ८१ करोड पुगेको छ र १२१ कम्पनीको मूल्य बढेको छ।

दिउँसो १२:२८ बजे नेप्से २७६३ अंकसम्म झरेको थियो। त्यसपछि बजार सामान्य रूपमा फर्केर २:५३ बजे २८१८ अंकसम्म पुगेको थियो। बजारमा उच्च उतारचढाव हुँदा कारोबार रकम पनि वृद्धि भएको छ। अघिल्लो दिन ५ अर्ब ७७ करोडको कारोबार भएकोमा आज ७ अर्ब ८१ करोडको कारोबार भइरहेको छ। १२१ कम्पनीको मूल्य बढ्दा १३८ कम्पनीको मूल्य घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ।

बैंकिङ क्षेत्र ०.१३, फाइनान्स ०.५८, लगानी ०.०९, उत्पादन तथा प्रशोधन ०.२५, निर्जीवन बीमा ०.३८ प्रतिशतले वृद्धि भएको छ। विकास बैंक ०.२७, होटल तथा पर्यटन २.३६, जलविद्युत् ०.०६, जीवन बीमा ०.२५, माइक्रोफाइनान्स ०.१५, अन्य ०.०३ र व्यापार १.१० प्रतिशत गिरावट आएको छ। तीन कम्पनीको मूल्य १५ प्रतिशतले वृद्धि भएको छ। ती कम्पनीहरूमा पाल्पा सिमेन्ट, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावर रहेका छन्।

झापा इनर्जीको मूल्य १४.०८ प्रतिशत र गुराँस लघुवित्तको मूल्य ९.१६ प्रतिशतले वृद्धि भएको छ। होटल फरेस्ट इनको मूल्य सबैभन्दा धेरै १०.७५ प्रतिशतले घटेको छ। एसियन हाइड्रोपावरको मूल्य ८.३८ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ७.८४ प्रतिशतले घटेको छ। आज धेरै कारोबार भएका कम्पनीहरूमा नेसनल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, होटल फरेस्ट इन र एसवाई प्यानल रहेका छन्।