होर्मुज स्ट्रेटमा इरानले दुई जहाज कब्जा गर्यो, युद्धविराम भंग हुने चिन्ता तीव्र

९ वैशाख, काठमाडौं । स्ट्रेट अफ होर्मुजमा इरानले दुईवटा कार्गो जहाजमाथि हमला गरी नियन्त्रणमा लिएको घटना पछिल्लो समयमा तनाव थपिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको अवधि बढाएसँगै यो घटनाले अमेरिका र इरानबीच जारी युद्धविराम भंग हुने सम्भावना बढाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
बेलायतको यूकेको मेरीटाइम ट्रेठ अपरेशन्स सेन्टर (UKMTO)का अनुसार पहिलो जहाजमाथि इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (IRGC)ले गोली चलाएको थियो। इरानी मिडियाले जनाएअनुसार IRGCले होर्मुज स्ट्रेटमा तीनवटा जहाजलाई लक्षित गरी आक्रमण गरेको थियो। IRGCले MSC फ्रान्सेस्का र एमामिनोडास नामक दुई कार्गो जहाज कब्जामा लिएर तिनलाई इरानी समुद्री तटतर्फ मोडेको सार्वजनिक गरेको छ।
IRGCको नेभीले ती जहाजहरूलाई ‘आवश्यक अनुमति विना हिँडाइ गर्ने’ र ‘नेविगेसन प्रणालीमा छेडछाड गर्ने’ आरोप लगाएको छ। यो घटना अमेरिका र इरानबीच सम्भावित शान्ति सम्झौतामा ठूलो अवरोध हुनसक्ने बीबीसी हिन्दीले उल्लेख गरेको छ। तथापि, अहिलेसम्म घटनामा कुनै मानविय क्षति वा ठुलो दुर्घटनाको सूचना प्राप्त भएको छैन।






