
१० वैशाख, काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनाव समाधान गर्न आफू हतारमा नभएको बताएका छन्। बिहीवार फक्स न्युजसँग टेलिफोन संवादका क्रममा उनले इरानसँग युद्धविरामको विषयमा अमेरिकालाई कुनै पनि दबाब नरहेको स्पष्ट पारे। ‘हामीलाई कुनै पनि किसिमको हतार छैन। हामी राम्रो सम्झौताका लागि तयार छौं,’ ट्रम्पले भने।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रेस सचिव क्यारोलाइन लेभितले पनि अमेरिकाले इरानसँग विभिन्न माध्यमबाट वार्तालाप जारी राखिरहेको जानकारी दिइन्। उनले भनिन् कि ट्रम्पले इरानसँगका आफ्ना सर्तहरू स्पष्ट गरिसकेको छ। ‘अमेरिका इरानी शासनको जवाफको प्रतिक्षामा छ। तर अहिलेसम्म इरानले स्पष्ट उत्तर दिइसकेको छैन,’ लेभितले भनिन्, ‘यही कारणले राष्ट्रपति ट्रम्पले युद्धविरामको अवधि विस्तार गर्ने निर्णय गर्नुभएको हो।’
अर्कोतर्फ, इरानका राष्ट्रपति मसुद पेजिस्कियानले इरानले संवादको सदैव स्वागत गर्ने बताउँदै हाल वार्तामा रोकावट आइरहेको संकेत दिएका छन्।






