Skip to main content

आर्मीको पुनरागमन, खिल्जीविरुद्ध जित

त्रिभुवन आर्मी क्लबले रेडबुल १० औं पीएम कप एनभीए पुरुष भलिबल लिग २०८३ अन्तर्गत खिल्जी क्लबलाई ३-१ सेटले पराजित गरेको छ। साविक विजेता हेल्प नेपाल स्पोर्ट्स क्लबले बुढानिलकण्ठ भलिबल क्लबलाई सोझो सेटमा २५-१३, २५-१७, २५-१८ को फराकिलो अन्तरले हराएको छ। महिलातर्फ नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लबले रेडबुल पीएम कप भलिबल लिगमा जित हात पारेका छन्।

१० वैशाख, काठमाडौं। विभागीय टोली त्रिभुवन आर्मी क्लब र साविक विजेता हेल्प नेपाल स्पोर्ट्स क्लबले रेडबुल १० औं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग २०८३ अन्तर्गत पुरुषतर्फ विजयी सुरुवात गरेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा बिहीबार भएको खेलमा आर्मीले लुम्बिनीको खिल्जी क्लबविरुद्ध पुनरागमन गर्दै ३-१ सेटको जित हात पारेको छ। पहिलो सेट खिल्जीले २५-१८ को अन्तरले आफ्नो पक्षमा पार्दै अग्रता लिएको थियो। त्यसपछि खिल्जीले लय कायम राख्न सकेन भने आर्मीले पुनरागमन गर्दै लगातार तीन सेट जित्यो। आर्मीले दोस्रो सेट २५-२०, तेस्रो सेट २५-२१, चौथो सेट २५-२० ले आफ्नो पक्षमा पारेको छ।

त्यस्तै पुरुषतर्फ साविक विजेता हेल्प नेपालले बुढानिलकण्ठ भलिबल क्लबलाई सोझो सेटमा पराजित गरेको छ। हेल्प नेपालले बुढानिलकण्ठलाई २५-१३, २५-१७, २५-१८ को नतिजाले हराएको छ। बिहीबारै भएको लिग अन्तर्गत महिलातर्फको खेलमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लबले पनि जित हात पारेका छन्। लिग अन्तर्गत शुक्रबार पुरुषतर्फ ३ र महिलातर्फ २ गरी जम्मा ५ खेल हुनेछन्। तस्वीरहरू : विकास श्रेष्ठ