Skip to main content

नेपालका सुदीप राज गौतम युनाइटेड र्‍याफ्टिङको बोर्ड सदस्य नियुक्त

नेपाल र्‍याफ्टिङ एण्ड कनोइङ एसोसिएसनका महासचिव सुदीप राज गौतम युनाइटेड र्‍याफ्टिङको बोर्ड सदस्य नियुक्त भएका छन्। फ्रान्सको पाउमा सम्पन्न पहिलो निर्वाचन सभाले वर्ल्ड र्‍याफ्टिङ फेडरेसन र इन्टरनेसनल र्‍याफ्टिङ फेडेरसनलाई एकीकृत गरेको छ। नयाँ जनरल बोर्डले छिट्टै पहिलो आधिकारिक बैठक राख्ने र रणनीतिहरू र संगठनात्मक कार्ययोजना तय गर्ने जनाएको छ।

१० वैशाख, काठमाडौं। नेपाल र्‍याफ्टिङ एण्ड कनोइङ एसोसिएसनका महासचिव सुदीप राज गौतम विश्व र्‍याफ्टिङ खेलको सर्वोच्च निकाय युनाईटेड र्‍याफ्टिङको बोर्ड सदस्य हुनु भएको छ। यस सभाले वर्ल्ड र्‍याफ्टिङ फेडरेसन र इन्टरनेसनल र्‍याफ्टिङ फेडेरसनलाई आधिकारिक रूपमा एकीकृत गर्दै र्‍याफ्टिङ खेलमा निर्णय गर्ने ऐतिहासिक चरण पार गरेको हो।

विश्व र्‍याफ्टिङका दुई संस्थाहरू मर्ज हुने सहमतिपछि पहिलोपटक भएको युनाइटेड र्‍याफ्टिङको निर्वाचन सभाले नयाँ जनरल बोर्ड गठन गरेको छ। सभाको उद्घाटन वर्ल्ड र्‍याफ्टिङ फेडेरसनका अध्यक्ष डानिलो बार्माज र इन्टरनेसनल र्‍याफ्टिङ फेडेरसनका अध्यक्ष जोसेफ विलिस जोन्सले गरेका थिए। सभामा ५६ राष्ट्रिय संघहरूले मतदान अधिकार पाएका थिए।

नयाँ निर्वाचित जनरल बोर्डले छिट्टै आफ्नो पहिलो आधिकारिक बैठक राख्ने जनाएको छ, जसमा प्रारम्भिक रणनीतिक प्राथमिकता र संगठनात्मक कार्ययोजना तय गरिनेछ। नवगठित युनाइटेड र्‍याफ्टिङले विश्वभरका खेलाडी, राष्ट्रिय महासंघ र सरोकारवालाहरुलाई समेट्दै समावेशी, पारदर्शी र भविष्य उन्मुख संघ निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।