Skip to main content

डेपुटी गभर्नर पण्डितले साढे ३ करोडको जग्गा खरिद गर्दा लगानी स्रोत सार्वजनिक

नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले करिब साढे ३ करोड रुपैयाँको मूल्यमा जग्गा खरिद गरेका छन्। उनले जग्गा खरिदका लागि आफ्नै आम्दानी र श्रीमतीको आम्दानीसँगै बैंक ऋणबाट लगानी गरेको बताएका छन्। राष्ट्र बैंकले ६० दिनभित्र बुझाउनुपर्ने सम्पत्ति विवरण सार्वजनिक गरेको छ। १० वैशाख, काठमाडौं।

पण्डितले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार, जग्गा खरिदमा किरण पण्डित र उनकी श्रीमती दुवैको आम्दानी र ऋण स्रोतको योगदान रहेको छ। उनले काठमाडौंको टोखा नगरपालिका स्थित प्लटलाई श्रीमतीको नाममा २ करोड २० लाख रुपैयाँमा खरिद गरेको उल्लेख गरेका छन्। यो लगानीको स्रोतका रूपमा आफू र श्रीमतीको आम्दानीसहित केही बैंक ऋण लिएको जानकारी दिएका छन्।

काठमाडौंको तारकेश्वरमा श्रीमतीको नाममा करिब ६९ लाख मूल्य बराबरको जग्गा रहेको छ भने कैलालीको धनगढीमा पण्डितको नाममा करिब १० लाख रुपैयाँको जग्गा रहेको विवरणमा उल्लेख गरिएको छ। त्यस्तै, भाइसँग संयुक्त लगानीमा रुपन्देहीमा ४० लाखको जग्गा रहेको पनि सम्पत्ति विवरणमा देखिन्छ। पारिवारिक सम्पत्तिको रुपमा बुवाको नाममा तनहुँ, दमौलीमा ११ रोपनी जग्गा र आमाको नाममा काठमाडौंमा ६ आना जग्गा छ।

डेपुटी गभर्नर पण्डितसँग २० तोला सुन, २५० तोला चाँदी र करिब २ लाख रुपैयाँ बराबरको हिरा रहेको छ। विवाह, पास्नी तथा व्यक्तिगत आर्जनबाट यो सम्पत्ति जुटाएको विवरणमा उल्लेख छ। राष्ट्र बैंक, कर्मचारी सञ्चय कोष र विभिन्न बैंकहरुमा उनको २ करोड २० लाख रुपैयाँभन्दा बढी बचत रहेको छ। त्यस्तै, विभिन्न कम्पनीहरूमा ७ सयभन्दा बढी कित्ता सेयर लगानी गरिएको विवरणमा सार्वजनिक गरिएको छ।