Skip to main content

चिनियाँ स्टार्टअप डिपसिकले नयाँ एआई मोडल ‘भी ४’ सार्वजनिक गर्यो

चिनियाँ स्टार्टअप डिपसिकले आफ्नो नयाँ मोडल ‘डिपसिक-भी ४’ सार्वजनिक गरेको छ, जसमा कम लागतमा उच्च क्षमताको आर्टिफिसियल इन्टेलिजेन्स समावेश छ। डिपसिक-भी ४ मा १० लाख शब्दसम्मको अल्ट्रा-लङ कन्टेक्स्ट क्षमता रहेको छ र यो दुई संस्करणहरू ‘भी ४-प्रो’ र ‘भी ४-फ्ल्यास’ मा उपलब्ध छ।

कम लागतमा उच्च क्षमताको आर्टिफिसियल इन्टेलिजेन्स विकास गर्दै विश्वलाई चकित पारेको चिनियाँ स्टार्टअप ‘डिपसिक’ ले शुक्रबार आफ्नो नयाँ मोडल ‘डिपसिक-भी ४’ सार्वजनिक गरेको हो। सन् २०२५ को सुरुमा अमेरिकी कम्पनीहरूको एकाधिकार तोड्न सफल यस कम्पनीले नयाँ भर्सनमा उत्पादन लागत र कम्प्युटिङ खर्चलाई तुलनात्मक रूपमा घटाएको दाबी गरेको छ।

यो नयाँ मोडल ‘भी ४-प्रो’ र ‘भी ४-फ्ल्यास’ गरी दुई संस्करणहरूमा उपलब्द गराइएको छ। कम्पनीका अनुसार ‘डिपसिक-भी ४’ मा १० लाख शब्दसम्मको ‘अल्ट्रा-लङ कन्टेक्स्ट’ क्षमता छ, जसले यसलाई एकैपटक धेरै सूचनाहरू समेटेर जटिल कार्यहरू सम्पादन गर्न सक्षम बनाउँछ। भी ४-प्रो संस्करणमा १.६ ट्रिलियन प्यारामिटर र कम लागत र छिटो चल्ने भी ४-फ्ल्यासमा २८४ बिलियन प्यारामिटरहरू रहेका छन्।

‘वर्ल्ड नलेज बेन्चमार्क्स’मा यो मोडलले गुगलको ‘जेमिनी-प्रो-३.१’सँग कडा प्रतिस्पर्धा गरी अन्य ओपन-सोर्स मोडलहरूलाई पछाडि छोडेको दाबी गरिएको छ। प्राविधिक विश्लेषकहरूले यसलाई उद्योगका लागि एउटा “मोड” को रूपमा हेरेका छन्। यसले महँगो अनुसन्धान प्रयोगशालामा सीमित रहेका एआई सुविधाहरूलाई व्यवसायिक र सर्वसाधारणको पहुँचमा पुर्‍याउने अपेक्षा गरिएको छ।

डिपसिकले आफ्ना मोडलहरूलाई ‘ओपन सोर्स’ राखेको कारण चीनका नगरपालिकाहरू, स्वास्थ्य संस्थाहरू र वित्तीय क्षेत्रमा यसको प्रयोग तीव्र गतिमा बढिरहेको छ। तथापि, डिपसिकको सफलतासँगै सुरक्षा र गोपनीयताका प्रश्नहरू पनि उठिरहेका छन्। ह्वाइट हाउसले चिनियाँ कम्पनीहरूलाई अमेरिकी एआई प्रविधि ‘चोरी गर्ने’ ठूलो अभियान चलाइरहेको आरोप लगाएको छ। ट्रम्प प्रशासनका विज्ञान र प्रविधि सल्लाहकार माइकल क्राट्सियोसले चिनियाँ संस्थाहरूले अमेरिकी एआई मोडलहरूबाट ‘डिस्टिलेसन’ प्रविधिमार्फत तथ्यांक संकलन गरेको प्रमाण रहेको दाबी गरेका छन्। अर्कोतर्फ, डिपसिकको च्याटबोटले तियानमेन स्क्वायर जस्ता संवेदनशील राजनीतिक विषयमा जवाफ दिन अस्वीकार गरेपछि सेन्सरसिपको आलोचनासमेत भइरहेको छ। अर्को महिना बेइजिङमा हुन लागेको डोनाल्ड ट्रम्प र सी जिनपिङको शिखर वार्ताअघि एआई प्रतिस्पर्धाले दुई देशबीचको तनाव बढाएको छ।