Skip to main content

वैज्ञानिकहरूले ‘सुपरएजर्स’ को रहस्य पत्ता लगाए

नर्थवेस्टर्न विश्वविद्यालयका वैज्ञानिकहरूले ८० वर्ष उमेर नाघेका सुपरएजर्स भन्ने समूहले ५० देखि ६० वर्ष उमेरका मानिसजस्तै तीव्र दिमाग भएको पुष्टि गरेका छन्। सुपरएजर्सको मस्तिष्कको कोर्टेक्स तह युवाहरूको जस्तै मोटो र एन्टेरियर सिन्गुलेट कोर्टेक्स केहिले त युवाभन्दा पनि घना देखिएको छ। सुपरएजर्सको मस्तिष्कमा अल्जाइमर्स रोग निम्त्याउने प्रोटिन नभएको वा भए पनि यसले स्मरणशक्तिमा क्षति पुर्‍याउन नसकेको लचिलोपन देखिएको छ साथै उनीहरूको सामाजिक जीवन पनि सक्रिय छ। ११ वैशाख, काठमाडौं। बुढ्यौली आयो भने स्मरणशक्ति कमजोर हुनु स्वाभाविक मानिन्छ, तर वैज्ञानिकहरूले ८० वर्ष उमेर नाघे पनि ५० देखि ६० वर्ष उमेरका मानिसजतिको तीव्र दिमाग भएका व्यक्तिहरूको एउटा विशेष समूह फेला पारेका छन्। नर्थवेस्टर्न विश्वविद्यालयका अनुसन्धानकर्ताहरू विगत २५ वर्षदेखि यस्ता व्यक्तिहरूलाई ‘सुपरएजर्स’ भनेर अध्ययन गरिरहेका छन्। हालै ‘अल्जाइमर्स एण्ड डिमेन्सिया’ नामक जर्नलमा प्रकाशित रिपोर्ट अनुसार, यी व्यक्तिहरूले उमेरका कारण हुने मानसिक गिरावट सम्बन्धी परम्परागत मान्यतालाई चुनौती दिएका छन्। उनीहरूले स्मृति परीक्षा जसमा शब्द सम्झने चुनौती हुन्छ, आफ्नो उमेरभन्दा ३० वर्ष कान्छा मानिस सरह प्रदर्शन गर्ने पाइएको छ।

मस्तिष्कको अनौठो जैविक संरचना वैज्ञानिकहरूका लागि सबैभन्दा चाखलाग्दो पक्ष हो। सामान्यतः बुढ्यौलीसँगै मस्तिष्कको बाहिरी तह अर्थात् ‘कोर्टेक्स’ पातलो हुँदै जान्छ, तर यी व्यक्तिहरूको मस्तिष्कमा यो तह युवाहरूको जसरी शक्तिशाली देखिएको छ। अझ अचम्मको कुरा, निर्णय र भावना सम्बन्धि ‘एन्टेरियर सिन्गुलेट कोर्टेक्स’ भाग कतिपय अवस्थामा युवाभन्दा पनि घना देखिएको छ। साथै, ती व्यक्तिहरूको मस्तिष्कमा सामाजिक व्यवहार र स्मृति सक्रियता सम्बन्धि न्युरोनहरूको (भोन इकोनोमो र एन्टोरहाइनल न्युरोन्स) ठूलो सङ्ख्या स्वस्थ अवस्थामा देखिएको छ।

अध्ययनका क्रममा ७७ जना सुपरएजर्सको मृत्युपश्चात मस्तिष्क दान गरि गरिएका विश्लेषणले दुई महत्वपूर्ण तथ्यहरू उजागर गरेका छन्। पहिलो, ‘प्रतिरोध’ नामक संयन्त्र जसमा कतिपय सुपरएजर्सको मस्तिष्कमा अल्जाइमर्स निम्त्याउने हानिकारक प्रोटिन प्लाक्स र ट्याङ्गल्स पूर्ण रूपमा नभेटिएको छ। दोस्रो, ‘लचिलोपन’ नामक संयन्त्र जसमा कतिपयमा ती हानिकारक प्रोटिनहरू भए तापनि स्मरणशक्तिमा कुनै हानि थाहा पाइएको छैन। यसको अर्थ सुपरएजर्सको मस्तिष्कले यी रोगहरूलाई सहने वा विरुद्ध लड्ने विशेष क्षमता विकाश गरेको देखिन्छ।

जैविक संरचनाको अलावा सुपरएजर्सहरूको जीवनशैली पनि उल्लेखनीय छ। उनीहरू सामाजिक, मिलनसार र बाहिरी मानिसहरूसँग घुलमिल हुन रुचाउने पाइन्छ। व्यायाम र खानपानको विविधता भए तापनि, प्रबल सामाजिक सम्बन्ध र सक्रिय संलग्नताले उनीहरूको मस्तिष्कलाई स्वस्थ राख्न ठूलो भूमिका खेलेको देखिएको छ। डा. सान्ड्रा वेनट्रबका अनुसार यी पत्ता लगाइहरूले डिमेन्सिया र अल्जाइमर्सजस्ता रोग रोकथाम वा ढिलो गर्न नयाँ उपचार तरिका तथा रणनीति विकासमा ठूलो योगदान दिनेछन्।