
कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लामा स्विप अपरेशनमा प्रहरीले २५४ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये १५ जनालाई पुनर्स्थापना केन्द्र पठाइएको र ७६ जनालाई आफन्तको जिम्मा लगाइएको छ। स्विप अपरेशन क्रममा २६.५६ ग्राम ब्राउन सुगर र ४४ पिस प्रतिबन्धित ट्याब्लेट्स बरामद गरिएको छ।
कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले लागुऔषध कारोबारी, प्रयोगकर्ता र भरियालाई ‘सोरने’ अर्थात जसरी भए पनि पक्राउ गर्ने निर्देशन दिएका थिए। झापा, मोरङ र सुनसरीबाट २५४ जनालाई पक्राउ गरिएको छ। उनले बुधबार स्विप अपरेशन सञ्चालन गर्न निर्देशन दिएका थिए। ‘जिल्ला र मातहतमा लागुऔषधसम्बन्धी विगतका सबै मुद्दाहरूको रेकर्ड निकालेर ती व्यक्तिहरूलाई २४ घण्टाभित्र छानबिन गरी ‘सोरने’,’ उनले भने, ‘माथिबाट स्पष्ट निर्देशन आएको छ, २४ घण्टाभित्र नतिजा देखिनुपर्छ।’
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कवित कट्वालले बताएअनुसार, मोरङको विभिन्न क्षेत्रबाट ७२ जनालाई पक्राउ गरिएको छ। वैशाख ९ गते साँझ ६ बजेदेखि सुरु भएको अभियान वैशाख ११ गते बिहानसम्म चलेको थियो। पक्राउ पर्नेमा अधिकांश लागुऔषध प्रयोगकर्ता छन्। सुनसरीमा १२० जनाको गिरफ्तारी भएको छ, जसमा ५ जना महिला छन्। ७६ जनालाई सम्झाइ बुझाइ पछि आफन्तको जिम्मा लगाइएको छ।
झापामा ६२ जनाको पक्राउ भएको छ। बरामद भएको लागुऔषधमा २० ग्राम ४० मिलिग्राम ब्राउन सुगर रहेका छन्। चेकजाँचको क्रममा प्रहरीमाथि अभद्र व्यवहार गरेको भन्दै ६ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ। दमकको ताराबारीमा गरिएको विशेष जाँचमा ५४ जना चालक तथा सहचालकको ‘किट’ मार्फत लागूपदार्थ सेवन परीक्षण गरिएको थियो। तीमध्ये ३ चालक र २ सहचालकले लागूपदार्थ सेवन गरेको र २ जनाले मदिरा सेवन गरेको पत्ता लागेको थियो।






