Skip to main content

नेपाली कांग्रेस संसदीय दलको नेतृत्व चयनमा ढिलाइ: गगन थापा र विश्वप्रकाश शर्माबीचको शक्ति संघर्ष मुख्य कारण

प्रतिनिधिसभा चुनाव सम्पन्न भइसकेपछि पहिलो अधिवेशन सकिएपछि दोस्रो अधिवेशनमा प्रवेश गर्दा पनि नेपाली कांग्रेस संसदीय दलको नेतृत्व चयन गर्न नसक्दा उच्च नेतृत्वले व्यक्तिगत रूपमा हस्तक्षेप गर्नुपर्ने अवस्था आएको छ। पछिल्लो समयमा शुक्रबार नेतृत्वका लागि मनोनयन दर्ता गर्न तय भए पनि अन्तिम समयमा स्थगित गरिएको छ। यसको सट्टा सहमति जुटाउने प्रयास गर्दै उपसभापति र महामन्त्रीहरूलाई जिम्मेवारी दिइएको छ।
पहिले कांग्रेसले वैशाख ४ गते संसदीय दलको नेता चयन गर्ने जानकारी दिएको थियो। तर इच्छुकहरूको बीच सहमति नहुँदा वैशाख ११ गते अर्थात् शुक्रबार नेतृत्व चयन गर्ने तालिका बनाईयो। संसदीय दलको नेतृत्वका लागि सांसदहरू अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्य अग्रसर रहेको खबरहरू आएका छन्।
सभापति गगन थापा आचार्यलाई र उपसभापति विश्वप्रकाश शर्मा आङ्देम्बेलाई नेता बनाउन चाहँदा चयन प्रक्रिया लम्बिएको विवरणहरू प्राप्त भएका छन्। आचार्य प्रत्यक्ष निर्वाचित सांसद हुन् भने आङ्देम्बे समानुपातिक सांसद हुन्। त्यसैले अर्को आकाङ्क्षी केसीले समानुपातिक सांसदलाई नेतृत्वमा ल्याउनुभन्दा अनुभवीलाई नेतृत्व दिँदा आफू उपयुक्त रहे भन्ने तर्क गर्दै अन्यथा मापदण्ड बनाउने हो भने त्यस विषयमा पनि छलफल हुनुपर्ने बताउँदै आएका छन्।
केसीले अनुभव र वर्तमान संसदमा प्रभावकारी भूमिका निर्वाह गर्ने आवश्यकतालाई आधार मानेर आफू आकाङ्क्षी बनेको तर्क गर्दै आएका छन्। कांग्रेस कार्यसम्पादन समितिले सर्वसम्मत अनुसार नेता चयन गर्ने उद्देश्यले हालका लागि निर्वाचन कार्यक्रम स्थगित गरिएको पार्टीले जनाएको छ। छिट्टै नै नयाँ तालिका प्रकाशन गरिने जनाएको छ। सर्वसम्मत नेतृत्व चयनका लागि उपसभापति शर्माको नेतृत्वको समितिमा एकजना सदस्य रहेका महामन्त्री गुरुराज घिमिरेले दुई तीन दिनभित्रै नेतृत्व चयन प्रक्रिया शुरु हुने जानकारी दिएका छन्।
“हामीले नेता बन्न इच्छुकहरूसँग छलफल सुरु गरिसकेका छौँ,” महामन्त्री घिमिरेले भने, “सर्वसम्मतिका लागी प्रयास रहनेछ, नसके मतदानबाट पनि निर्णय हुनेछ। हामी अब धेरै समय लिँदैनौं।” बाहिर प्रचार भएजस्तो सभापति थापा र उपसभापति शर्माबीच कुनै मतभेद नभएको उनको भनाइ छ। फरकफरक सुझावहरू आएको स्वीकार गर्दै उनले त्यसलाई मतभेदको रूपमा प्रचार गरिएको टिप्पणी गरेका छन्।
“सबै किसिमका सुझावहरू आउँदा बाहिर मतभेदजस्तो प्रचार भयो,” उनी भन्छन्, “हामी एकमतबाट टुङ्गो लगाउनेछौं।” महामन्त्री घिमिरेले इच्छुकहरूको धारणा बुझेपछि पार्टीले निर्णय लिने बताएका छन्। तर पत्रकार तथा विश्लेषक पुरुषोत्तम दाहालले कांग्रेस संसदीय दलको नेता चयनमा देखिएको ढिलाइलाई “लज्जास्पद” टिप्पणी गरेका छन्। प्रमुख प्रतिपक्षी दलले नेतृत्व चयन गर्न नसक्दा संवैधानिक परिषद् पनि अधूरो रहेको अवस्था छ।
सांसद प्रतिनिधित्व गर्ने अन्य साना ठूला दलहरूले नेतृत्व चयन गरिसकेका छन्। दाहालको विश्लेषणमा कांग्रेसमा देखिने दुई भाँडो र विशेष महाधिवेशन पक्षबीचको अन्तर्सङ्घर्षका कारण पार्टीले अझै नेताको निर्णय गर्न नसकेको हो। “बाहिर देखिदैन तर विशेष महाधिवेशनपछि कांग्रेस भाँडिएको अवस्थामा छ,” दाहाल भन्छन्, “यसैको परिणाम हो, यो सबैभन्दा दुःखद र दुर्भाग्यपूर्ण कुरा हो।” विशेष महाधिवेशनमा सहभागी भएका आङ्देम्बे पहिले देउवा पक्षमा थिए। प्रतिनिधिसभामा पनि देउवा पक्षका केही नेताहरू सांसदका रूपमा निर्वाचित भएका छन्।
“देउवा पक्षले आफू असफल भएको वा अपमानित भएको अवस्थाको प्रतिशोध लिन खोजेको हुन सक्छ,” पत्रकार दाहाल भन्छन्, “अर्को कुरा त विशेष महाधिवेशन कै पक्षबीच अन्तर्सङ्घर्ष निश्चित छ।” शक्तिसङ्घर्ष मुख्य रूपमा सभापति थापा र उपसभापति शर्माबीच रहेको उनको बुझाइ छ। तर विशेष महाधिवेशनमा थापालाई सभापतिमा अगाडि पारेका शर्माले शक्ति संघर्ष स्पष्ट सन्देशको रूपमा अडान लिएको हुन सक्ने तर्क समेत राख्छन्।
“आआफ्नो शक्ति सन्तुलनको कुरा होला, भोलिको राजनीतिक भविष्यको कुरा होला,” दाहाल भन्छन्, “समावेशी र आफ्नो प्रादेशिक यथार्थलाई ध्यानमा राखेर देउवा पक्षलाई सन्तुलनमा ल्याउन सकिन्छ र भोलिका दिनहरूमा पार्टीमा समन्वय गर्न सजिलो हुन्छ भन्ने बुझाइ पनि विश्वप्रकाश शर्माको हुन सक्छ।” तर सभापति थापा र उपसभापति शर्माले सार्वजनिक रूपमा कुनै नेताको समर्थन गरेको उद्घोष गरेका छैनन्। महामन्त्री घिमिरेले तीन जना सांसद बाहेक वरिष्ठ सांसदहरूलाई पनि नेतृत्वमा अघि सार्नुपर्ने विचार पार्टीमा रहेको बताए। सानो आकारमा सीमित भएको प्रतिपक्षी दल कांग्रेसको संसदीय दलको नेताको जिम्मेवारी महत्वपूर्ण रहने पत्रकार दाहाल बताउँछन्। उनी भन्छन्, “छिन्नभिन्न भएको कांग्रेसलाई मलम लगाउँदै मध्यस्थता, संसदमा लोकतान्त्रिक प्रक्रिया र संस्कृतिलाई संरक्षण गर्ने नेता चयन गर्नुपर्ने देख्छु।