
१२ वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार रुपैयाँ घूस लिएको सूचनाका आधारमा एक जना प्रहरी हवल्दारलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका मुद्दा फाँटमा कार्यरत ३९ वर्षीय हवल्दार विष्णु थापा क्षेत्रलाई अख्तियारको पोखरा कार्यालयले पक्राउ गरेको हो। हवल्दार थापाले लागुऔषध मुद्दामा प्रतिवादीलाई समेत मुद्दा मिलाउन सहजीकरण गर्ने वाचा गरी ५० हजार रुपैयाँ लिएको सूचना प्राप्त भएको अख्तियारले जनाएको छ। सोही सूचनाका आधारमा पोखरा महानगरपालिका–४ स्थित खाजाघरबाट उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ।






