Skip to main content

मनमोहन अधिकारीको २७ औं स्मृति दिवस विभिन्न कार्यक्रममार्फत आयोजित गरियो

नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २७ औं स्मृति दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। मनमोहन स्मृति प्रतिष्ठानले ललितपुर सानेपास्थित शालिकमा माल्यार्पणसहित सभा र राष्ट्रव्यापी कविता प्रतियोगिता आयोजना गरेको थियो। प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेलले अधिकारीलाई अविचलित निष्ठाको प्रतीक र भारतीय स्वतन्त्रता सङ्ग्रामका सहभागीको रूपमा व्याख्या गरे।

१३ वैशाख, काठमाडौं। मनमोहन अधिकारीको स्मृति दिवसको अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले आइतबार ललितपुरको सानेपास्थित उनको शालिकमा माल्यार्पणसहित सभा आयोजना गरेको थियो। यसैगरी, प्रतिष्ठानले काठमाडौंमा मनमोहन स्मृति राष्ट्रव्यापी कविता प्रतियोगिता कार्यक्रमको पनि आयोजना गरेको थियो।

राष्ट्रिय कविता प्रतियोगितामा प्रतिष्ठानका अध्यक्ष एवं एमालेका पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अधिकारीलाई अविचलित निष्ठाको प्रतीकका रूपमा व्याख्या गरे। नेता पोखरेलले अधिकारी नेपाल कम्युनिष्ट पार्टी स्थापना हुनुभन्दा अघिदेखि नै आन्दोलनमा सक्रिय रहेको उल्लेख गर्दै भारतमा रहँदा भारतीय स्वतन्त्रता सङ्ग्राममा सहभागी भई जेल जीवन बिताएको स्मरण गराए।

नेपालका लोकप्रिय प्रधानमन्त्री अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारका क्रममा काठमाडौंको गोठाटारमा हृदयघात भएपछि उपचारको क्रममा निधन भएको थियो।