Skip to main content

बुढीगण्डकी निर्माणमा ९ वर्ष लाग्ने, अन्य योजनाहरूको समयसीमा कति छ?

सरकारले १८ ठूला जलविद्युत् आयोजनाहरूलाई २०९२/०९३ सम्ममा सम्पन्न गर्ने मिति तोकेको छ, जसबाट २४ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ। बुढीगण्डकी जलाशययुक्त १२ सय मेगावाट क्षमताको आयोजना २०९१ सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ र यसको जिम्मेवारी बुढीगण्डकी जलविद्युत् कम्पनीलाई दिइएको छ। नेपाल विद्युत् प्राधिकरणले २०८५ भित्र सौर्य ऊर्जाबाट १ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ भने निजी क्षेत्रले १४ हजार मेगावाट आयोजना २०९२ भित्र सम्पन्न गर्ने योजना बनाएको छ। १३ वैशाख, काठमाडौं।

सरकारले ठूला जलविद्युत् आयोजना सम्पन्न गर्ने मिति निर्धारण गरिसकेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ अनुसार ठूला जलविद्युत् आयोजना सम्पन्न गर्ने समयसीमा तय गरिएको हो। रणनीतिमा समावेश १८ वटा आयोजनाहरू २०९२/०९३ (सन् २०३५) भित्र पूरा गर्ने लक्ष्य तय गरिएको छ। ती आयोजनाहरूबाट २४ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गरिने योजना गरिएको छ।

यी योजनाहरूमा राष्ट्रिय गौरवको रूपमा रहेको १२ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त आयोजना आगामी ९ वर्ष भित्र अर्थात् २०९१ सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यसको जिम्मेवारी बुढीगण्डकी जलविद्युत कम्पनीलाई दिइएको छ भने ऊर्जा, अर्थ, विद्युत विकास विभाग र विद्युत् प्राधिकरणलाई समन्वयकारी निकाय बनाइएको छ। त्यसैगरी, ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त आयोजना पनि २०९१ भित्र सम्पन्न गर्ने समयसीमा तोकिएको छ।

यो आयोजना नेपाल विद्युत् प्राधिकरणको पूर्ण स्वामित्वमा छ र यसलाई एसियाली विकास बैंक (एडीबी)को सहयोगमा अगाडि बढाइएको छ। खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने रभुँवाघाटस्थित दूधकोशी आयोजनालाई यस आर्थिक वर्षको बजेट वक्तव्यमा पनि समावेश गरिएको छ। १ हजार ६१ मेगावाट क्षमताको माथिल्लो अरुण आयोजनालाई पनि ९ वर्ष भित्र अर्थात् २०९१ सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

८२८ मेगावाट क्षमताको उत्तरगंगा जलविद्युत् योजना आगामी १० वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य छ। बाग्लुङमा निर्माण हुन लागेको यो आयोजना २०६१ सालदेखि चर्चामा रहेको थियो। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी उत्तरगंगा जलविद्युत कम्पनीमार्फत बन्ने यो आयोजनाको लागि २०८० सालमा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन स्वीकृत गरिएको थियो। ईआईए स्वीकृतसँगै आगामी तीन वर्षभित्र संरचना निर्माण सुरु गर्ने र ७ वर्षभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएको थियो। तर अहिलेसम्म यो योजना अध्ययनकै अवस्थामा छ।

सरकारले यो आयोजना २०९१ भित्र सम्पन्न गर्ने समयसीमा तोकेको छ। ४९० मेगावाट क्षमताको अरुण–४ जलविद्युत् आयोजनालाई पनि ८ वर्ष भित्र अर्थात् २०९० सम्म सम्पन्न गर्ने समयसीमा तोकिएको छ। यो आयोजना नेपाल विद्युत् प्राधिकरण र भारतको सतलज जलविद्युत् निगमको संयुक्त लगानीमा निर्माण हुँदैछ र २०७९ सालमा दुवै देशले द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका थिए।

४१७ मेगावाट क्षमताको नलगाड आयोजना आगामी ९ वर्ष अर्थात् २०९१ सम्ममा सम्पन्न हुने लक्ष्य राखिएको छ। जाजरकोटको नलगाड नदीमा बन्न लागेको यो आयोजनाको डीपीआर २०७३ सालमा तयार भएको थियो र दुई वर्ष भित्र संरचना निर्माण सुरु गर्ने लक्ष्य थियो। तर यस योजना अहिले पनि अलपत्र अवस्थामा छ।

४३९ मेगावाट क्षमताको बेतन कर्णाली जलविद्युत् आयोजना आगामी ८ वर्ष भित्र सम्पन्न गर्ने समयसीमा तोकिएको छ। यो आयोजना बेतन कर्णाली जलविद्युत कम्पनीमार्फत बन्नेछ र २०९० भित्र पूरा गर्ने लक्ष्य छ। नेपाल विद्युत् प्राधिकरणले सौर्य ऊर्जाबाट १ हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ। आगामी २ वर्ष अर्थात् २०८५ भित्र सौर्य ऊर्जाको योजना कार्यान्वयन गर्ने लक्ष्य रहेको छ। सरकारी कम्पनी नेपाल विद्युत् प्राधिकरण र यसको सहायक कम्पनीहरूले प्रवर्द्धित करिब ३ हजार ५ सय मेगावाट क्षमताका आयोजना २०९२ भित्र पूरा गर्ने लक्ष्य राखेका छन्। निजी क्षेत्रबाट करिब १४ हजार मेगावाट क्षमताका सौर्य तथा अन्य आयोजनाहरू पनि २०९२ भित्र सकिने लक्ष्य राखिएको छ।