
नेपालले टर्कीको अन्टालियामा हुने २२औं विश्व केम्पो च्याम्पियनसिपमा १६ सदस्यीय टोलीसहित प्रतिस्पर्धा गर्ने भएको छ। नेपाल केम्पो खुकुरी फेडेरेसनको टोली अध्यक्ष पাভेल शाहको नेतृत्वमा सोमबार टर्की प्रस्थान गरेको छ। खेलाडीहरूले विभिन्न तौलसमूह र विधामा प्रतिस्पर्धा गर्दै पदक जितेर देशलाई गौरवान्वित बनाउने विश्वास व्यक्त गरेका छन्।
सोमबारदेखि अन्टालिया, टर्कीमा अप्रिल २६ सम्म २२औं विश्व केम्पो च्याम्पियनसिप सञ्चालन हुँदैछ। उक्त च्याम्पियनसिपमा नेपालको तर्फबाट ६ पुरुष र ४ महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। महिलातर्फ सेमी केम्पो ५० केजी तौलसमूहमा अञ्जना शाही, सेमी केम्पो २२ केजीमा प्रिशा राज्यलक्ष्मी शाह, सेमी केम्पो २५ केजीमा आयरा गौतम र मोनालिशा धामीले सेमी केम्पो ६० केजीमा प्रतिस्पर्धा गर्नेछन्।
अञ्जनाले काता र सेल्फ डिफेन्स विधामा पनि चुनौती प्रस्तुत गर्ने फेडेरेसनका अध्यक्ष पाभेल शाहले जानकारी दिए। पुरुष सेमी केम्पोतर्फ सुरेश पराजुली ६५ केजी तौलसमूहमा, सुलभ श्रेष्ठ ३० केजीमा र कृदिक्स विक्रम कुँवर २५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन्। दिलमान लामाले २५ केजी फुल केम्पो, काता र सेल्फ डिफेन्स विधामा खेल्नेछन्।
प्रस्थान कार्यक्रममा अध्यक्ष पाभेल शाहले खेलाडीहरूले आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै पदक जितेर देशलाई गौरवान्वित बनाउने विश्वास व्यक्त गरे। उनले भने, ‘हाम्रा खेलाडीहरू कडा मेहनत र समर्पणका साथ तयारीमा जुटेका छन्। उनीहरूले उत्कृष्ट प्रदर्शन गर्दै नेपालको लागि धेरै पदक ल्याउनेछन् भन्नेमा विश्वस्त छौं।’






