
१४ वैशाख, काठमाडौं । २४ घण्टाभित्र दोस्रो पटक पाकिस्तान पुगेका इरानी विदेशमन्त्री अब्बास अराघची त्यहाँबाट रुस पुगेका छन् । आइतबार पाकिस्तानको राजधानी इस्लामावादस्थित भ्रमणपछि उनी सोमबार रुसको राजधानी मास्को पुगेका हुन् । रुस पुगेर अराघचीले पाकिस्तानको सराहना गरेका छन् । ‘पाकिस्तानले इरान- अमेरिकाबीचको वार्तामा महत्वपूर्ण भूमिका निभाएको छ,’ रुसको सेन्ट पिटर्सबर्गमा आफ्नो भाषणमा उनले भने, ‘हामीले पाकिस्तानमा आफ्ना साझेदारसँग राम्रो संवाद गर्यौं । अल्लाहलाई धन्यवाद छ, त्यहाँको भ्रमण धेरै सफल रह्यो ।’
उनले पाकिस्तान भ्रमणका क्रममा हालसम्म भएका घटनाको मूल्याङ्कन पनि गरेको बताएका छन् । ‘हामीले अहिलेसम्म भएका घटनाको समीक्षा गर्यौं र वार्ता भविष्यमा कसरी र कुन शर्तमा जारी राख्ने भन्ने विषयमा छलफल गर्यौं,’ उनले बताए। अराघचीले रुससँग आफ्ना वार्ताहरूमा युद्धसम्बन्धी अवस्था र वर्तमान स्थिति बारे पनि कुराकानी भएको जनाएका छन् । ‘हामीले आफ्ना रुसी साझेदारसँग युद्धसम्बन्धी अवस्था र तत्कालीन परिस्थितिबारे छलफल गर्छौं र समीक्षा गर्छौं,’ उनले भने, ‘ताकि आवश्यक समन्वय र सहकार्य गर्न सकियोस् ।’






