
समाचार संक्षेप होटल संघ नेपालले भारतको नयाँ दिल्लीमा भोलिदेखि तीन दिने नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गर्न लागेको छ। हानका अध्यक्ष विनायक शाहको नेतृत्वमा ६५ सदस्यीय नेपाली होटल प्रतिनिधिमण्डल उक्त कार्यक्रममा सहभागी हुनेछ। कार्यक्रममा नेपाली टोलीले भारतीय समकक्षीसँग बीटुबी भेटघाट गरी विशेष पर्यटन प्याकेज सार्वजनिक गर्ने जनाएको छ। १४ वैशाख, काठमाडौं – होटल संघ नेपालले भोलिदेखि भारतको नयाँ दिल्लीमा नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गर्न लागेको छ। नेपाल र भारतका प्रमुख पर्यटन व्यवसायीहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले विशेषगरि गर्मीयाममा भारतीय पर्यटकहरूको आगमन वृद्धि गर्ने लक्ष्य राखेको छ। हानका अध्यक्ष विनायक शाहको नेतृत्वमा ६५ सदस्यीय नेपाली होटल प्रतिनिधिमण्डल कार्यक्रममा सहभागी हुनेछ। प्रतिनिधिमण्डलले अप्रिल २८ मा ‘नेपाल-वैवाहिक गन्तव्य’ तथा अप्रिल २९ मा ‘नेपाल- तपाईंको नजिक, कल्पनाभन्दा उत्कृष्ट बिदा गन्तव्य’ शीर्षकका कार्यक्रमहरूमा भाग लिनेछ। यस प्रतिनिधिमण्डलमा हानका पदाधिकारी, बोर्ड सदस्य तथा देशभरका सदस्य होटलहरू सहभागी छन्। नेपाल प्रवर्द्धनात्मक कार्यक्रमलाई दिल्लीस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डले सहयोग गरेको हानले जनाएको छ। तीन दिने कार्यक्रम अवधिभर नेपाली टोलीले भारतीय समकक्षीसँग बीटुबी भेटघाट गर्नुका साथै ‘नेपाल पर्यटन साँझ’ मा पनि सहभागिता जनाउनेछ। कार्यक्रममा हानका सदस्य होटलहरूले भारतीय परिवार, समूह पर्यटक, तीर्थयात्री, नवविवाहित जोडी, हनिमुन यात्रु, कर्पोरेट ग्राहक तथा प्रकृति, संस्कृति र साहसिक पर्यटनमा रुचि राख्ने पर्यटकहरूलाई लक्षित गर्दै विशेष प्याकेजहरू सार्वजनिक गर्ने हानले बताएको छ। मध्यपूर्व संकटका कारण उडान अवरुद्ध हुनु र हवाई भाडा वृद्धि भएको सन्दर्भमा छिमेकी नेपालमा भारतीय पर्यटकको आगमन उल्लेखनीय रूपमा बढ्ने अपेक्षा होटल संघ नेपालले गरेको छ।






