
ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा २७४६ सवारी चालकलाई विभिन्न नियम उल्लङ्घनमा कारबाही गरेको छ। यस कारबाहीबाट जम्मा २९ लाख ६४ हजार ५०१ रुपैयाँ राजस्व सङ्कलन भएको छ। मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई कारबाही गर्न र यात्रुले प्रहरीलाई खबर गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ।
१५ वैशाख, काठमाडौं। ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा दुई हजार ७४६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। आज बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७९, राइड सेयरिङमा २२५, रातो बत्ती उल्लङ्घनमा १७५, तीव्र गतिमा १४८, लेन क्रसिङमा ३२४, सडक फुटपाथमा १४९, हर्न निषेध उल्लङ्घनमा ५५, ओराल्ने र चढाउने नियम उल्लङ्घनमा ५४, र अन्य कारणले एक हजार ५३७ गरी कुल २ हजार ७४६ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिएका छन्।
उहाँले भन्नुभयो, ‘बितेको २४ घण्टामा उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने कुल २ हजार ७४६ सवारी चालकलाई कारबाही गरिएको छ। उक्त कारबाहीबाट २९ लाख ६४ हजार ५०१ रुपैयाँ राजस्व सङ्कलन भएको छ।’ मादक पदार्थ सेवन गरेर सवारी चलाउनु कानुनविपरीत र दण्डनीय कार्य भएको हुँदा, चालकले मादक पदार्थ वा लागूपदार्थ सेवन गरेको शङ्का लागेमा यात्रुहरूले तुरुन्त नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ वा प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।






