Skip to main content

वर्षात् मौसममा घरको हेरचाहका लागि १० महत्वपूर्ण उपायहरू

वर्षा सुरु हुनुअघि घरमा लिकेज छ कि छैन भनेर जाँच गराउन अत्यावश्यक हुन्छ, किनभने वर्षा महिनामा लिकेज निकै ठूलो भए मर्मत गाह्रो हुन्छ। वर्षात् मौसम धेरैलाई मनपर्न सक्छ, तर यस समयमा घरलाई विशेष ध्यान दिन आवश्यक छ किनभने वर्षाका पानीका थोपाहरूले घरमा विभिन्न प्रकारले असर पुर्‍याउन सक्छन्। त्यसैले वर्षात् समयमा घरको हेरचाहका सम्बन्धमा केही महत्वपूर्ण कुराहरूमा विशेष ख्याल गर्नुपर्छ।

१. कपडाको हेरचाह: वर्षा हुँदा हामी मात्र हैन, हाम्रा कपडाहरू पनि भिज्छन् र भिजेपछि छिटो सुक्दैनन्, जुन सबभन्दा ठूलो समस्या हो। धेरैजसो मानिसहरू वर्षामा बेड कभर, पर्दा, र तौलिया धुनबाट बच्ने गर्छन्। तर यो उपाय टिक्दो होइन किनभने केही दिनपछि कपडामा दुर्गन्ध लाग्न थाल्छ। त्यसकारण आवश्यक कपडाहरू नियमित सफा गर्नु जरुरी छ। यदि घरैमा कपडा छिटो सुक्दैनन् जस्तो लाग्छ भने ड्राई क्लिनिङ गराउनु राम्रो विकल्प हो।

२. घरमा सुगन्ध फैलाउने: वर्षा मौसम ब्याक्टेरियाको विकासका लागि अनुकूल हुन्छ, त्यसैले घर सफा गर्न नियमित समय निकाल्नुपर्छ। सफाइपछि घरका प्रत्येक कोठामा केही सुगन्धित फूल तथा मनपर्ने एसेंशियल तेलका थोपा राख्न सकिन्छ, जसले घरलाई ताजा र मनमोहक सुगन्धले भरिदिन्छ।

३. बिरुवाहरू घरबाहिर राख्ने: वर्षा महिनामा इन्डोर बिरुवाको हेरचाह आवश्यक हुन्छ। झरीले घाम कम पर्नाले बिरुवाको विकासमा असर गर्न सक्छ। यसैले इनडोर बिरुवालाई छोटो समयका लागि बाहिर, विशेष गरी बाल्कनीमा राख्नु उचित हुन्छ। किनकि वर्षा हुँदा बिरुवाका पातमा विभिन्न किराहरू पनि बढ्न सक्छन् र घरभित्र भित्र्याउँदा त्यो समस्याको विस्तार हुन सक्छ। अत्यधिक वर्षा हुँदा बिरुवालाई भिज्नबाट बचाउने व्यवस्था गर्नुपर्छ।

४. कार्पेटको हेरचाह: वर्षात् मौसममा कार्पेटको सतर्कता आवश्यक हुन्छ। कार्पेटले ओस र धुलो सोस्छ जसका कारण कार्पेटबाट अनौठो दुर्गन्ध आउन सक्छ। यसलाई रोक्न दिनहुँ भ्याक्युम क्लिन गर्नुपर्छ। सम्भव भएमा वर्षात् समयमा कार्पेट हटाएर वर्षापछि राख्न पनि सकिन्छ।

५. विद्युत् उपकरणहरूलाई वर्षात् अघि मर्मत गराउने: वर्षा र हावाहुरीले विद्युत् आपूर्तिमा उतारचढाव ल्याउँछ, जसले विद्युत् उपकरणलाई असर पुर्‍याउन सक्छ। यसकारण वर्षा सुरु हुनुअघि नै इलेक्ट्रीशियनबाट तार जाँच गराई समस्या छ भने मर्मत गराउनुपर्छ। तारहरू भिजेका छन् भने नयाँ तारहरू लगाउनु राम्रो हुन्छ ताकि शर्ट सर्किटको खतरा कम हुन्छ। स्विच बोर्ड नजिक लिकेज छ भने त्यसलाई बेवास्ता नगरी तुरुन्त मर्मत गर्नुपर्छ।

६. किताबहरूको संरक्षण: घरमा किताबहरूको ठूलो सङ्ग्रह भएमा तिनीहरूलाई पनि वर्षाको प्रभावबाट बचाउन आवश्यक छ। किताब बिग्रिएपछि पुरानै अवस्थामा फर्काउन गाह्रो हुन्छ। त्यसैले किताबहरूको र्याकमा नेफ्थालिन बल र सिलिका जेल पाउच राख्नुपर्छ, जसले ओस र किराबाट बचाउँछ।

७. वर्षा सुरु हुनुअघि लिकेज जाँच: वर्षाको शुरु हुँदा घरमा लिकेज भए त्यसलाई मर्मत गर्न कठिन हुन्छ। लिकेज ठूलो नबन्नु राम्रो हुने भएकोले वर्षा अघि नै पूरै घरको लिकेज जाँच गरी मर्मत गराउनु उचित हुन्छ।

८. घरमा राम्रो हावा पास हुने बनाउने: वर्षातको समयमा हावामा ओस धेरै हुन्छ, जसले घरमा अनावश्यक दुर्गन्ध उत्पन्न हुन सक्छ। यसलाई रोक्न भेन्टिलेसन अत्यावश्यक छ। झ्यालहरू खुल्ला राखेर क्रस भेन्टिलेसन गर्नाले घर सफा र ताजा हावा भित्र पस्छ र ओस्युक्त दुर्गन्ध आउन सक्दैन।

९. वर्षात् समयमा घरमा रिनोभेसन नगर्ने: वर्षात्का दिनहरूमा घरमा कुनै ठूलो तोडफोड वा रिनोभेसन नगर्नु नै राम्रो हुन्छ। यस्ता कामहरू सुक्खा मौसममा मात्र गर्नुपर्छ ताकि काम राम्रोसँग सुक्न र टिकाउन सकियोस्।

१०. फर्निचरको हेरचाह: काठे फर्निचरमा नमी सोसिएर फुलेर जान सक्छ। यसलाई रोक्न नियमित वाक्सिङ गर्नु आवश्यक हुन्छ जसले फर्निचरलाई ओसबाट जोगाउँछ र किरा पनि लाग्दैन। यदि ढोका, ड्रअर वा झ्यालहरू फुलेर ठीकसँग बन्द नभएमा स्यान्डपेपरले थोरै रगडेर सुधार गर्नुपर्छ।