Skip to main content

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघ ललितपुरद्वारा स्थानीय तहहरूलाई ज्ञापन पत्र बुझाइयो

१५ वैशाख, काठमाडौं। संघीय सरकारले केवल सरकारी सञ्चारमाध्यमलाई विज्ञापन वितरण गर्ने निर्णयको विरोध स्वरूप नेपाल पत्रकार महासंघ ललितपुर शाखाले स्थानीय तहहरूलाई ज्ञापन पत्र बुझाएको छ। यो ज्ञापनपत्र जिल्ला समन्वय समिति ललितपुरमार्फत ललितपुर महानगरपालिका, सबै नगरपालिका र गाउँपालिकाहरूमा पठाइएको छ। मंगलबार महासंघ ललितपुरका अध्यक्ष रामहरि कार्कीको नेतृत्वमा गएको टोलीले जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयाललाई ज्ञापन पत्र बुझाएको हो।

ज्ञापन पत्रमार्फत ललितपुर महानगरपालिका, गोदावरी, र महालक्ष्मी नगरपालिका साथै महांकाल, कोन्ज्योसोम र बागमती गाउँपालिकामा पत्राचार गर्न आग्रह गरिएको छ। महासंघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवस्तरीय निर्णयअनुसार २०८२ चैत १८ गते जारी गरिएको परिपत्रप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको छ। उक्त परिपत्रले संघीय, प्रदेश र स्थानीय तहका निकायहरूलाई सरकारी सञ्चारमाध्यममात्र विज्ञापन प्रकाशन र प्रसारण गर्न निर्देशन दिएको थियो।

ज्ञापनपत्रमा नेपाली सञ्चार क्षेत्र लामो समयदेखि वित्तीय संकटमा रहेको उल्लेख गर्दै यस निर्णयले निजी र सामुदायिक सञ्चारमाध्यमहरूलाई थप कमजोर बनाउने तर्क गरिएको छ। महासंघले यस निर्णय सरोकारवाला पक्षसँग पर्याप्त परामर्शविना लिइएको उल्लेख गर्दै त्यसलाई आपत्तिजनक ठहर गरेको छ। सरकारी सञ्चारमाध्यमहरूलाई मात्र प्राथमिकता दिने नीति निजी तथा सामुदायिक सञ्चारमाध्यमप्रति भेदभाव र अन्याय रहेको महासंघको निष्कर्ष छ।