
नेपाल पुलिस क्लबले रेडबुल दशौं पीएम कप एनभीए पुरुष भलिबल लिगमा लगातार पाँचौं जित दर्ता गरेको छ। पुलिसले त्रिपुरेश्वर दशरथ रंगशालामा सम्पन्न विभागीय डर्बी खेलमा आर्मीलाई ३-१ सेटले पराजित गरेको हो। एनभीए लिगमा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोली प्रतिस्पर्धामा छन्, जसमा शीर्ष दुई टोलीले फाइनल खेल्ने छन्।
१४ वैशाख, काठमाडौं। रेडबुल दशौं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग २०८३ को छैटौँ दिन नेपाल पुलिस क्लबले पुरुषतर्फ लगातार पाँचौं जित हात पारेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्ड हलमा भएको विभागीय डर्बी खेलमा पुलिसले आर्मीलाई ३-१ सेटमा पराजित गर्यो। लगातार पाँच जितपछि पुलिस अपराजित रहेर १५ अंकसहित शीर्ष स्थानमा छ। आर्मीका लागि यो चार खेलमा पहिलो हार हो। चार खेलबाट आर्मी ८ अंकसहित चौथो स्थानमा रहेको छ।
पुलिसले पहिलो सेट २५-२२ को अंकले जित्दै अग्रता बनाएको थियो। दोस्रो सेटमा आर्मीले पुनरागमन गर्दै २५-१५ को फराकिलो अन्तरले सेट जित्यो र खेल बराबरीमा ल्यायो। तेस्रो सेट निकै प्रतिस्पर्धात्मक रहँदा पुलिसले २६-२४ को टाइब्रेकरमा सेट जितेर खेलमा २-१ को अग्रता बनायो। चौथो सेटमा पनि सुरुमा आर्मीले अग्रता राख्यो, तर पुलिसले पुनः फर्केर २५-१८ को फराकिलो अन्तरले सेट जित्यो र खेल आफ्नो पक्षमा पार्यो।
मंगलबार भएको अन्य पुरुषतर्फको खेलमा हेल्प नेपाल स्पोर्ट्स क्लब र खिल्जी युवा क्लब विजयी भएका छन्। एनभीए लिगमा बुधबार पनि पुरुषतर्फ ३ र महिलातर्फ २ खेलहरु हुनेछन्। महिलातर्फ बिहान ९ बजे त्रिभुवन आर्मी र नेपाल एपीएफ क्लब तथा बिहान ११ बजे नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ। पुरुषतर्फ एपीएफ र बुढानिलकण्ठ भलिबल क्लबबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ भने हेल्प नेपाल स्पोर्ट्स क्लब र रुकुम पश्चिमबीचको खेल ३ बजे तथा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशबीच साँझ ५ बजे हुनेछ। नेपाल भलिबल संघको आयोजना गरेको यस लिगमा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोली सहभागी छन्। नौ दिनसम्म सञ्चालन हुने यस लिगमा पुरुष र महिलातर्फ गरी कुल ४५ खेल हुनेछ। सिंगल राउन्ड रोबिन लिगपछि महिला र पुरुष दुवै शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्। विजेताले समानरूपमा १० लाख रकम पुरस्कार स्वरूप प्राप्त गर्नेछन्।






