Skip to main content

राखेपले एन्फा विवाद समाधानका लागि फिफा र एएफसीसँग प्रत्यक्ष बैठकको प्रस्ताव राख्यो

अखिल नेपाल फुटबल संघ (एन्फा) को विवाद समाधानका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियन फुटबल महासंघ (एएफसी) सँग प्रत्यक्ष बैठकको प्रस्ताव गरेको छ। एन्फा महासचिव किरण राईसँग भएको छलफलमा राखेप सदस्यसचिव रामचरित्र मेहताले प्रत्यक्ष बैठकको प्रस्ताव गरेका हुन्। बुधबार संयुक्त बैठकका लागि फिफा र एएफसीलाई पत्र लेख्ने तयारी भइरहेको राखेप सदस्यसचिव मेहताले जानकारी दिएका छन्। उनले भने, “यस बैठकका लागि एन्फाले सहजीकरण गर्न सहमति जनाएको छ।”
यसअघि फिफा, एएफसी, एन्फा तथा राखेपबिच भर्चुअल रूपमा छलफल भएको थियो। अर्ली इलेक्सन विवादको कारण राखेपले चैत ११ मा एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो। फिफा र एएफसीले पत्रमार्फत आगामी मे ४ सम्म एन्फाको समस्या समाधान नहुँदा निलम्बन प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ। यसैबीच, मे ४ अगावै संयुक्त छलफल गर्ने राखेपको प्रस्ताव रहेको छ। एन्फाका प्रवक्ता सुरेश शाहले पनि राखेपसँग छलफल भइरहेको जानकारी दिनुभएको छ।