Skip to main content

प्रधानमन्त्रीलाई आङ्देम्बेको प्रश्न: अध्यादेशमार्फत संसदीय गरिमामा किन अवमूल्यन भयो?

१५ वैशाख, काठमाडौं । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसद अधिवेशन स्थगित गरी अध्यादेशमार्फत कानुन ल्याउने सरकारको कदमप्रति कडा विरोध जनाएका छन् । उनले लोकतान्त्रिक प्रक्रियाबाट बनेको सरकारले अलोकतान्त्रिक अभ्यास गरेको आरोप लगाएका छन् । मंगलबार जारी विज्ञप्तिमा आङ्देम्बेले लोकतन्त्र केवल प्रक्रिया मात्र नभई प्रवृत्तिसमेत भएको उल्लेख गर्दै संसद चलिरहेको अवस्थामा अध्यादेश ल्याउनु अस्वान्तिक भएको बताएका छन्।

सरकारले दुईवटा अध्यादेश राष्ट्रपतिसमक्ष पठाएको विषयलाई उनले दु:खद र गम्भीर भएको बताएका छन्। उनका अनुसार अध्यादेश भनेको संसद नचलेको अवस्थामा मात्र मुलुकलाई तत्काल आवश्यक परेको खण्डमा प्रयोग गरिने संवैधानिक उपाय हो। तर अहिले त्यस्तो कुनै आपत्कालीन अवस्था नरहेको र संसद अधिवेशनमै आवश्यक विधेयक पारित गर्न सकिने अवस्थामा पनि अध्यादेश ल्याउन खोज्नु अनुचित भएको उनको भनाइ छ।

प्रमुख प्रतिपक्ष र अन्य दलसँग सामान्य परामर्श नगरी हतारमा यस्तो निर्णय लिनुलाई उनले ‘बलमिच्याइँको राजनीति’ भनेका छन्। आङ्देम्बेले प्रधानमन्त्रीलाई लक्षित गर्दै आफ्नै पार्टीको बहुमतप्रति अविश्वास किन देखिएको भन्ने प्रश्न पनि उठाएका छन्। उनले संसदको गरिमा र मर्मको अवमूल्यन गरिएको आरोप लगाउँदै यसप्रति आफ्नो दलको स्पष्ट विरोध रहेको बताएका छन्।

विज्ञप्तिमा संवैधानिक परिषद सम्बन्धी विधेयक र सहकारी ऐन संशोधनजस्ता महत्वपूर्ण विषयहरू संसदमै छलफल र सहमतिबाट टुंग्याउनुपर्ने उल्लेख गरिएको छ। सरकारले आह्वान गरिसकेको संसद अधिवेशन स्थगित गरी अध्यादेश जारी गर्नु ‘सर्वथा अनुचित’ भएको कांग्रेसको निष्कर्ष छ। यद्यपि, कांग्रेसले सरकारलाई रचनात्मक सहयोग गर्न सधैं तयार रहेको प्रष्ट पारेको छ। तर लोकतन्त्र, जनअभिमत, सार्वभौम संसद र संविधानको मर्म विपरीतका कदमहरूलाई कुनै पनि हालतमा स्वीकार नगर्ने प्रतिबद्धता व्यक्त गरेको छ।