
१६ वैशाख, त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत सडक निर्माण सम्पन्न भएका स्थानहरूमा सडक सुरक्षाको काम थालिएको छ। आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार हाल पूर्वी खण्डमा निर्माण सम्पन्न भएका स्थानहरूमा सडक सुरक्षासम्बन्धि कामहरू जारी छन्। सडक सुरक्षाअनुसार सडकमा सेतो र पहेँलो चिन्हहरू बनाउन, बीचको डिभाइडरमा रङ लगाउन, मुख्य सडक र सहायक सडकबीच सिमेन्ट बार राख्न तथा स्पिड लिमिटका चिन्हहरू जडान गर्न कार्य भइरहेको छ। साथै, सडक छेउमा रेलिङ, डब्लु–बिम राख्ने र डेलिनेटर पोल जडान गर्ने कामहरू पनि चलिरहेका छन्।
सडक निर्माणको काम अन्तिम चरणमा पुगेकोले सडक सुरक्षाका कामहरूलाई प्राथमिकतासाथ अघि बढाइएको छ भने सूचना अधिकारी खनालले बताए। उनले भने, ‘सडक निर्माणका धेरै कामहरू अन्तिम चरणमा पुगेका छन्, त्यसैले सडक सुरक्षाका कामहरूलाई अग्रता दिइएको छ।’ नवलपरासी पूर्वी खण्डमा पर्ने ६५ किलोमिटर सडकमध्ये हाल करिब सात किलोमिटरमा मात्रै कच्ची सडक हुँदैछ; अन्य सबै क्षेत्रहरूमा कालोपत्र र पक्की सडक सञ्चालनमा आएको उनले जानकारी दिए। पूर्वी खण्डमा अहिलेको भौतिक प्रगतिले ८१ प्रतिशत पुगेको छ।
पूर्वी खण्डमा हाल दाउन्ने क्षेत्र बाहेक अन्य स्थानहरूमा यात्रा सहज छ। नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको सम्झौता २०७५ साल माघ २४ गते गरिएको थियो र २०७९ साउन २२ गतेसम्म सम्पन्न गरिने लक्ष्य राखिएको थियो। चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले काम सुरु गरेको यस आयोजनाले कुल ११३ किलोमिटर सडकलाई दुई खण्डमा विभाजित गरी कार्य अगाडि बढाएको छ। समय सीमा नपुग्दा हाल चौथोपटक म्याद थप गरी आगामी साउनसम्मको लागि अवधि वृद्धि गरिएको छ। एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सञ्चालित यस आयोजनाको दुवै खण्डको कुल लागत रु १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रहेको छ। कुल ११३ किलोमिटर सडकमध्ये ७० किलोमिटरमा चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुई तर्फ छ–छ मिटरका सर्भिस लेन निर्माण गरिनेछ। दाउन्ने क्षेत्रको १४ किलोमिटर खण्डमा तीन लेनको सडक निर्माण हुनेछ।






