
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले वैशाख ३१ गते दशौं रारा पोखरा स्पोर्ट्स अवार्ड–२०८२ आयोजना गर्ने भएको छ। यस अवार्डमार्फत विभिन्न ९ विधामा सम्मान गरिनेछ। कार्यक्रमलाई रारा तयारी चाउचाउ मुख्य प्रायोजकका रूपमा, गुरुङ गहना घर र नेलम्बो नेपालले सह–प्रायोजन गरेका छन्।
पहिले वैशाख १८ गते तय गरिएको कार्यक्रम विशेष कारणले सारेर वैशाख ३१ मा आयोजना गरिने जानकारी बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो। मञ्चका अध्यक्ष मानबहादुर घर्तीमगर (एमबी आस्था) का अनुसार, पोखरा इभेन्ट सेन्टरमा हुने उक्त कार्यक्रममा वर्ष खेलाडी (पुरुष), वर्ष खेलाडी (महिला), पिपुल्स च्वाइस अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ/क्लब, स्पेसल अवार्ड र उत्कृष्ट खेल पत्रकार गरी कुल ९ विधामा सम्मान गरिनेछ।
यस वर्षदेखि ‘पिपुल्स च्वाइस’ र ‘स्पेसल अवार्ड’ थप गरिएको छ। पिपुल्स च्वाइस अवार्डका लागि ‘गुरुङ गहना घर’ र स्पेसल अवार्डका लागि ‘नेलम्बो नेपाल’ले प्रायोजन गरेका छन्। खेलकुद क्षेत्रमा समग्र विकास र खेलाडीहरूको मनोबल उच्च बनाउने उद्देश्यका साथ वि.सं. २०७२ सालदेखि मञ्चले यो अवार्ड कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको छ।
कार्यक्रमलाई भव्य बनाउन अध्यक्ष घर्तीमगरको संयोजकत्वमा मुख्य आयोजक समिति गठन गरिएको छ। समितिको सह–संयोजकमा उपाध्यक्ष दुबै राजाराम पौडेल र उमा आले रहेका छन्। यस वर्षको अवार्डमा मुख्य प्रायोजकका रूपमा हिमश्री फुड्स प्रालिको ‘रारा तयारी चाउचाउ’, सह–प्रायोजकमा गुरुङ गहना घर र केल्मी नेपाल रहेका छन्। भोटिङ पार्टनरका रूपमा खल्ती डिजिटल वालेट र हस्पिटालिटी पार्टनरका रूपमा प्लाजा होटल ग्रुप रहेका छन्। कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका लगायत विभिन्न स्थानीय तह र विदेशस्थित संघसंस्थाहरूले सहयोग गरेका छन्।






