
१६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले पार्टीको एकतासँग लोकतन्त्र र मुलुकको गहिरो सम्बन्ध रहेको बताउँदै सकारात्मक तरिकाले अघि बढ्नुपर्ने बताएका छन्। उनले संस्थापन इतर समूहको धुम्बाराहीमा जारी भेलामा सम्बोधन गर्दै यस्तो बताएका हुन्। साउदले भने, “पार्टीको एकतासँग लोकतन्त्र पनि जोडिएको छ, मुलुक पनि जोडिएको छ। यो कुरालाई दृष्टिगत गरेर हामीले सकारात्मक रूपमै अघि बढ्दा राम्रो हुन्छ। तर, उनीहरूको सकारात्मक सोच मैले देखेको छैन।”
साउदले संस्थापन समूहमा सकारात्मक सोच नदेखिएको अवस्थामा इतर समूहले सामूहिक निर्णय लिनुपर्नेमा जोड दिएका छन्। उनले भने, “अब सकारात्मक सोच देखाउँदै नदेखेपछि के गर्ने भन्ने सन्दर्भमा हामीले सामूहिक रूपमा निर्णय गरौँ। हामी सबै सामूहिक रूपमा एकै ठाउँमा छौँ।”
साउदले आफूहरूसँग दुई वटा विकल्प रहेको पनि उल्लेख गरे। उनले भने, “हामीसँग दुईटा मात्रै विकल्प छन्। एउटा विकल्प भनेको परिस्थिति जुन छ, त्यसलाई एज इट इज ग्रहण गरेर पार्टी भित्रको प्रक्रियालाई संघर्षका रूपमा लिएर १५औं महाधिवेशनमा जानु हो।” उनले वैकल्पिक बाटोका प्रतिकूलताहरूको बारेमा जानकारी दिँदै नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठनका बेलाको अनुभव पनि स्मरण गराए।






