
नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा ओमानसँग डीएलएस मेथडका आधारमा १०२ रनले पराजित भएको छ। नेपालले ३०६ रनको लक्ष्य पछ्याउँदा ३६ ओभर ५ बलमा ७ विकेट गुमाएर मात्र १५५ रन बनायो। नेपालले २२ खेलमा ६ जितसहित १४ अंक जोडेर सातौं स्थानमा रहँदा शीर्ष ४ मा पुग्न कठिनाइ बढेको छ। १६ वैशाख, काठमाडौं।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको सिरिजमा नेपालको खराब प्रदर्शन जारी छ। घरेलु मैदानमा भएको सिरिजमा नेपाल बुधबार ओमानसँग १०२ रनले पराजित भएको हो। हारको मुख्य कारण ब्याटिङ रहेको छ। ओमानले दिएको ३०६ रनको लक्ष्य पछ्याएको नेपालले ३६ ओभर ५ बलमा ७ विकेट गुमाएर मात्र १५५ रन बनायो। कप्तान रोहित पौडेलसहित ओपनर द्वय आसिफ शेख र कुशल भुर्तेलले निराशाजनक प्रदर्शन गरे। रोहित १०, आसिफ १९ र कुशल एक रनमा आउट भए।
नेपालका पछिल्ला १० ओडीआई खेलमा यी तीन खेलाडीको प्रदर्शन कमजोर रहेको छ। कप्तान रोहितले १० खेलमा एक मात्र शतक प्रहार गरेका छन् र अन्य ९ खेलमा ४० रन पनि कटाउन सकेका छैनन्। ओपनर कुशल र आसिफको पनि अवस्था उस्तै छ। कुशलले पछिल्ला १० ओडीआईमा एकमात्र अर्धशतक बनाएका छन्। आसिफले पनि कुनै खेलमा अर्धशतक बनाउन सकेका छैनन्।
नेपालले घरेलु मैदानमा थप ६ खेल खेल्नेछ भने बाँकी ८ खेल विदेशमा खेल्नेछ। लिग २ अन्तर्गत नेपालले २२ खेल खेलिसकेको छ र ६ खेलमा मात्र जित निकालेको छ। यसपटक घरेलु मैदानमा राम्रो नतिजा नआउँदा लिग २ को शीर्ष ४ मा पुग्न कठिनाइ बढेको छ।






