Skip to main content

नेपालले ओमानसँग घरेलु मैदानमा लज्जास्पद हार भोग्यो

नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमानसँग १०२ रनले पराजित भएको छ। ओमानले ५० ओभरमा ८ विकेट गुमाएर ३०५ रन बनाएको थियो, जसमा जतिन्दर सिंहले १३० रन बनाए। नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले ६० रन बनाए पनि यो जितका लागि पर्याप्त हुन सकेन। १६ वैशाख, काठमाडौं।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको खेलमा नेपाल ओमानसँग लज्जास्पद हार बेहोरेको छ। ओमानले दिएको ३०६ रनको लक्ष्य पछ्याएको नेपाल ३६ ओभर ५ बलमा ७ विकेट गुमाएर १५५ रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको थियो। वर्षा नरोकिएपछि डीएल पद्धति अनुसार नेपाल १०२ रनले पराजित भयो। नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले ६० रन जोडे, उनले ६२ बलमा ७ चौका र एक छक्का प्रहार गरे।

ओपनर कुशल भुर्तेल एक रनमा आउट भए, आसिफ शेखले १९, भीम सार्कीले २८, कप्तान रोहित पौडेल १०, बसिर अहमद १ र आरिफ शेख १४ रनमा आउट भए। गुल्सन झा १४ र सोमपाल कामी २ रनमा अविजित रहे। बलिङमा ओमानका नदीम खानले सर्वाधिक ३ विकेट लिए। शकील अहमदले २ र वासिम अली र इम्रान मोहम्मदले एक-एक विकेट लिए।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३०५ रन बनाएको थियो। ओमानका कप्तान जतिन्दर सिंहले शतक प्रहार गरे। उनले ९६ बलमा १३० रन बनाए, जसमा १५ चौका र ५ छक्का समावेश छन्। आशिष ओडेराले २३, नदीम खान १, हम्माद मिर्जा ३०, विनायक शुक्ला २३, जितेन रामानन्दी ४३, शकील अहमद ० र आर्यन विश्ट ३५ रनमा आउट भए। सिद्धार्थ बुकापटनम १ र वासिम अली १२ रनमा अविजित रहे। बलिङमा नेपालका लागि सोमपाल कामीले ४, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान रूपमा दुई विकेट लिए। सिरिजअन्तर्गत नेपालले आफ्नो तेस्रो खेल शुक्रबार युएईसँग खेल्नेछ।