Skip to main content

कीर्तिपुरको राधास्वामी सत्संगले सुकुमवासीहरूलाई खाना खुवाउने, मेन्यू यस्तो छ

कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग आश्रमले आजदेखि सुकुमवासीहरूलाई खाना खुवाउने व्यवस्था सुरु गरेको छ। आश्रममा राखिएका ५७ परिवारका १६१ जना सुकुमवासीलाई बिहानदेखि बेलुकासम्म खाना खुवाउने मेन्यू तयार गरिएको छ। शनिबार र आइतबार सुकुमवासी बस्तीमा डोजर चलाएपछि पीडितहरूलाई आश्रममा राखिएको हो।

राधास्वामी सत्संग आश्रममा राखिएका सुकुमवासीहरूलाई आजदेखि सोही संस्थाले खाना खुवाउने भएको छ। यस संस्थामा आश्रय लिएर बसिरहेका सुकुमवासीहरूलाई सत्संगले नै खाना खुवाउने आश्रमका एक सेवकले पुष्टि गरे। सेल्टरको सुरक्षाका लागि खटिएका एक प्रहरीले पनि राधास्वामी सत्संगले नै आजदेखि सुकुमवासीलाई खाना खुवाउने पुष्टि गरे।

आश्रमा बसेका सुकुमवासीका लागि खानाको मेन्यू पनि तयार भएको छ। प्रत्येक दिन बिहान ७ बजे चिया-बिस्कुट, साढे १० बजे दाल, भात, तरकारी र अचार, दिउँसो २ बजे चिया नास्ता, बेलुका साढे ६ बजे बिहानको मेन्यूमा जस्तै खाना खुवाउने गरी तालिका बनाइएको छ। राधास्वामी सत्संगमा थापथली, शान्तिनगर, गैरीगाउँ लगायत क्षेत्रबाट विस्थापित सुकुमवासीहरूलाई राखिएको छ। प्रहरीका अनुसार कीर्तिपुरमा ५७ परिवारका १६१ जना छन्।