
१७ वैशाख, लिस्बन (पोर्चुगल) । विश्व शान्तिका प्रवर्तक भगवान् गौतम बुद्धको २५७०औँ जन्मजयन्ती पोर्चुगलमा विशेष कार्यक्रम मार्फत मनाइँदैछ। नेपाल आदिवासी जनजाति महासङ्घ, पोर्चुगलले आयोजना गरेको कार्यक्रममा यही मे १ तारिख शुक्रवार राजधानी लिस्बनमा बुद्धजयन्तीलाई विशेष रूपमा मनाउने तयारी छ। यस अवसरमा लिस्बनको आन्जोसस्थित जिनासीयो क्लब हलमा भगवान बुद्धको विशेष पूजा–आराधना गरिने छ भने बौद्ध धर्मगुरुले ध्यान र प्रवचनहरु पनि प्रदान गर्ने बताइएको छ।
बुद्धका शान्ति, करुणा र मैत्रीका सन्देश फैलाउने साथै बुद्ध र उनका जन्मस्थलको प्रचार–प्रसार गर्ने उद्देश्यले यो विशेष कार्यक्रम आयोजना गरिएको महासङ्घका अध्यक्ष चोपकुमार रानामगरले जानकारी दिनुभएको छ। कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन पोर्चुगलमा रहेका नेपाली समुदायलाई सहभागी हुन आग्रह गरिएको छ भनी अध्यक्ष रानामगरले बताउनुभयो। पोर्चुगलमा हरेक वर्ष यहाँ क्रियाशील नेपाली सङ्घ–संस्थाहरुको संयोजनमा बुद्धजयन्ती मनाइँदै आएको छ।






