
वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी गरेको भन्ने विवरण बाहिरिएपछि यस विषयले विभिन्न टीकाटिप्पणी निम्त्याएको छ। दुई जना पाका पूर्वराजदूतले त्यस्तो कदमलाई “हानिकारक” र “अव्यावहारिक” बताउँदै हालका राजदूतहरूको राजनीतिक नियुक्तिमा सुधार गर्नुपर्ने सुझाव दिएका छन्। नेपालमा हाल ५० प्रतिशत राजदूतहरू ‘करिअर डिप्लोम्याट’ अर्थात् परराष्ट्र मन्त्रालयका कर्मचारीबाट र बाँकी ५० प्रतिशत राजनीतिक भागबन्डाबाट नियुक्त हुँदै आएका छन्। वर्तमान सरकारले कति प्रतिशत राजदूत खुला प्रतिस्पर्धाबाट नियुक्त गरिने छ भन्नेबारे स्पष्ट पारिसकेको छैन। परराष्ट्र मन्त्रालय स्रोतले उच्च तहबाटै त्यो विषय स्पष्ट हुने बतायो।
नियुक्तिको मापदण्डमा परराष्ट्रमन्त्री शिशिर खनालले काम गरिरहेको र अर्को सातासम्म विज्ञापन आउनसक्ने बताइएको छ। हाल भारत, चीन, संयुक्त राज्य अमेरिका, यूकेसहित १७ वटा देशमा नेपाली राजदूतावासहरू नेतृत्वविहीन अवस्थामा छन्। भारतका लागि नेपालका भूतपूर्व राजदूत नीलाम्बर आचार्यले खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति “उपयुक्त” नहुने बताउँदै भने, “यो हानिकारक पनि हुन्छ। परराष्ट्रमा शाखा अधिकृत हुँदै माथिल्लो तहसम्म पुगेका मान्छे करिअर डिप्लोम्याटबाट राजदूत बन्ने गरेका हुन्छन्। उनीहरूले लामो समय बिताएर अनुभव बटुलिसकेका हुन्छन्।”
आवेदन भर्न लगाएर राजदूत चयन गर्न खोजिए सही व्यक्ति नआउन सक्ने जोखिम रहेको परराष्ट्र मामिलाका जानकारहरूले बताउँछन्। भारतका लागि अर्का भूतपूर्व राजदूत लोकराज बरालले भने, “हुन त नेपालमा पदका लागि दौडिएर जान्छन्, कतिपयले आवेदन पनि देलान्। तर अलि आत्मसम्मान भएका, गतिला र स्थापित मानिसहरूले त्यति उत्सकुता देखाउलान् जस्तो मलाई लाग्दैन।” पूर्वराजदूतहरूका अनुसार बहालवाला सरकारका विश्वासपात्रका रूपमा राजदूतहरू अरू देशमा खटिएका हुन्छन्। आचार्यले भने, “खुला प्रतिस्पर्धाबाट नियुक्त गर्दा त्यो केमेस्ट्री (मिलाप) रहँदैन।”
पूर्वराजदूतहरूको सुझाव छ कि नेपालले अहिले गर्दै आएको अभ्यासमा सुधार गर्दै अगाडि बढ्नुपर्छ। बरालले भने, “थोरै चाहिँ राजनीतिक नियुक्ति गर्नुपर्छ। भरसक परराष्ट्रबाट धेरै नियुक्त गर्नुपर्छ।” आचार्यले पनि प्रतिस्पर्धाबाट गर्ने कुरा हो भने परराष्ट्रकै अहिलेको ५० प्रतिशत हिस्सालाई बढाइदिए हुन्छ भन्ने सुझाव दिएका छन्। उनले भने, “नियुक्ति गरिने व्यक्ति योग्य र सक्षम हुनुपर्यो।”






