स्थानीय बासिन्दा त्रसित, विराटनगर जुट मिल्सको मजदुर क्वार्टर खाली गर्ने तयारी

समाचार सारांश विराटनगर जुट मिल्सको मजदुर क्वार्टर खाली गर्ने सूचना जारी भएपछि स्थानीय बासिन्दा त्रसित भएका छन्। स्थानीय प्रशासन र मिल्स व्यवस्थापनले संरचना अतिक्रमण गर्नेहरूलाई हटाउन सहजीकरण गर्ने तयारी गरेको छ। मोरङका सहायक प्रमुख जिल्ला अधिकारीले बसोबास गर्नेहरूको विवरण संकलन भइरहेको र प्रक्रियागत रुपमा अघि बढ्ने बताए। १८ वैशाख, विराटनगर। नेपालकै पहिलो उद्योग विराटनगर जुट मिल्सका मजदुरका लागि बनाइएको ‘हटताली हाट’ प्रजातान्त्रिक आन्दोलनको महत्वपूर्ण केन्द्र हो। गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी लगायतका नेताहरूले यो ठाँउमा रहेको बर-पिपलको छेउबाट प्रजातन्त्रका लागि जनतालाई सडकमा आउन उत्प्रेरणा दिएका थिए। तर, आज इतिहासले साक्षी दिएको चौतारी वरिपरि बसोबास गर्ने बासिन्दा आफ्नो भविष्यलाई लिएर त्रसित र दुविधामा छन्।
स्थानीय प्रशासनले मिल्सका मजदुर क्वार्टर खाली गर्न सूचना दिएको कारण स्थानीयहरूमा चिन्ता बढेको छ। दैनिक मजदुरी गर्ने फिरोज शेख आज काम नगरी हटताली हाटमा आएका थिए। बिहीबार दिउँसो भेट्दा उनले आफ्नो बासस्थान गुम्ने डर बताउँदै भने, ‘मेरो जन्म यहीँ हो, बाबु जुट मिल्समा काम गर्नुभयो। हटाइयो भने कहाँ जाऊँ?’ बिहीबार दिउँसो चौतारामा भेटिएकी ६२ वर्षीया जयरा खातुनले पनि उस्तै चिन्ता प्रकट गरिन्। उनले समेत मिल्समा काम गरिसकेकी छिन् भने उनका श्रीमान पनि मिल्समा काम गर्थे। बस्ती हटाउने सूचना पाएपछि उनीला भित्री त्रास छ कि कहाँ जान।
त्यो दिन चौतारीमा बालबालिका, महिला, पुरुष र वृद्धवृद्धा भेला भएका थिए। उनीहरूको साझा गुनासो थियो, ‘हामीले भोट दिएर बनाएको सरकारले हाम्रै छानो उजाड बनाउँदैछ।’ स्थानीय कमला मगर हाटताली हाटमा एक्लै बस्छिन्। जुट मिल्समा काम गर्ने उनका पति र एउटा छोरा बितिसकेका छन् भने जेठो छोरा बेपत्ता छ। पसल गरेर गुजारा चलाएकी कमला डोजर चलाउनु अघि जहर दिन आग्रह गरिन्। ‘बालेन सरकारले हामीलाई हटाउनुअघि जहर दिनुपर्यो। हामी खाएर मर्न तयार छौं,’ उनले दुःख पोख्दै भनिन्, ‘मेरे श्रीमान यहीँ मरे, छाडेर कहाँ जाउँ? हामी बेघर भएर बस्न सक्दैनौं।’
विकासको आशा गरेका नेताबाट बास खोस्न खोजिएको उनको गुनासो छ। ‘युवा सरकारले आयो, रोजगारी दिन्छ भनेर नाती-नातिनाले भोट दिएका थिए। हामीले छोरा-नाती सम्झेर भोट दिएका थियौं। आज हाम्रै घर उजाड गर्न आउँदा के गर्ने, कहाँ जाने?’ कमला बताइन्। जुट मिल्स २०७० सालदेखि पूर्ण रूपमा बन्द छ। उद्योग बन्द हुनु अघि मजदुरको बक्यौता रकम तिरेको भए पनि मजदुरहरूले आफ्नो क्वार्टर छोडेका छैनन्। स्थानीय बादल चन्दले मजदुर क्वार्टर खाली गराउने भए वैकल्पिक व्यवस्था गर्नुपर्ने बताए। ‘हामीलाई बस्न अर्को ठाउँ दिएर रोजगारी दिन्छन् भने हामी जान्छौं,’ उनले भने।
७० वर्षीया वृद्ध कृष्णबहादुर क्षेत्रीले पनि कुनै विकल्प नदिइकन क्वार्टर छोड्न तिनै पक्षमा नरहेको बताए। विराटनगर जुट मिल्सका सुपरभाइजर मनोज खड्काका अनुसार हटताली हाटसहित मिल्सको मजदुर क्वार्टर क्षेत्रमै ४०० भन्दा बढी परिवार बसोबास गर्दै आएका छन्। ‘सरकारले सबै मजदुरको विवरण फरफारक गरेपछि केहीले क्वार्टर छाडे तर धेरैले बसेका छन्। क्वार्टर क्षेत्रमा अन्य मानिसहरू पनि आएर बसेका छन्,’ उनले भने, ‘हाटताली हाट क्षेत्रमा केही वास्तविक सुकुमबासी छन्, केही भाडामा बसेका छन्।’
उनका अनुसार ६९ बिघा क्षेत्रफल भएको विराटनगर जुट मिल्सको जग्गामा उद्योग क्षेत्र ४६ बिघा र हरिनगर भट्टा, हाटताली हाट, दक्षिण गेट तथा दरैयाबस्तीमा १४ बिघाभन्दा बढी जग्गा छ। उद्योग क्षेत्र बाहेकको जग्गामा सुकुमबासीहरू बसोबास गरिरहेका छन्। मिल्स संरचनामा ८० भन्दा बढी साना-ठूला टहरा छन्, जसमा लामो समयदेखि बसोबास गर्नेहरूले भाडा तिरेका छैनन्। भाडा तिर्न भनिँदा पनि तिर्न अनिच्छुक रहेको अवस्थामा रहेको छ। सरकारले संरचना अतिक्रमण गर्नेहरूलाई हटाउन मिल्स व्यवस्थापनले सहजीकरण गर्ने तयारी गरेको छ। मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला जुट मिल्समा बसोबास गर्नेहरूको विवरण संकलन भइरहेको र बस्ती खाली नगर्ने तर प्रक्रिया अनुसार अघि बढ्ने बताए। ‘यहाँ बसोबास गर्नेहरू सुकुमबासी हुन् या होइनन् भन्ने विवरण सोधिएको छ,’ उनले भने, ‘बस्ती हटाउने तयारी भइरहेको हुँदा स्थानीय प्रशासन र मिल्स प्रबंधनबाट सहकार्य हुनेछ र हामीले सहयोग गर्छौं।’






