
१८ वैशाख, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उनका परिवार हाल पोखरामा रहेका छन्। पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाह पारिवारिकसहित शुक्रबार पोखराको बाराहीघाटस्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा देखिएका थिए। उनीहरू ‘छु मी’ रेस्टुरेन्टमा भोजनका लागि पुगेका थिए। उनीहरूको आगमनले होटललाई एक विशिष्ट र गरिमामय वातावरणले समृद्ध बनाएको सूचना होटलले दिएको छ।
‘शुक्रबार अपराह्न हाम्रो लागि विशेष रहयो, जहाँ हामीले पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाह र शाही परिवारलाई आत्मीय रूपमा भोजन गराउन पाएको अवसर प्राप्त भयो,’ होटलले जानकारी गरायो। भोजनपश्चात् पूर्वराजा शाहले रेस्टुरेन्टको आतिथ्यता, सेवा र वातावरणप्रति आफ्नो सन्तुष्टि प्रकट गरेका थिए। उनले पोखराको आतिथ्य संस्कृतिको प्रशंसा गर्दै यस्ता सेवाले पर्यटन क्षेत्रलाई अझ समृद्ध बनाउने विश्वास व्यक्त गरे, होटलका एक कर्मचारीले बताए।
अंशुवरा ग्रुपको लगानी रहेको ३१ पार्क होटल परिसरभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’ पोखरामा उत्कृष्ट चिनियाँ खानाका लागि परिचित छ। स्थानीय पर्यटन व्यवसायीहरूले यस्ता उच्चस्तरीय भ्रमण र सकारात्मक प्रतिक्रियाले पोखराको छवि अझ मजबुद बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।






