
१८ वैशाख, तेह्रथुम। तेह्रथुमको छथर गाउँपालिकाको १६औं गाउँ सभा तथा हिउँदे अधिवेशनले संघीय सरकारलाई आफ्नो पालिका क्षेत्रमा अनावश्यक रूपमा डोजर नचलाउन सुझाव दिने निर्णय गरेको छ। छथर–५ मा अवस्थित ऐतिहासिक तथा सांस्कृतिक स्थल ताक्लुङ्गगढीमा सम्पन्न गाउँ सभाले यसरी निर्णय गरेको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले जानकारी दिए। उनले भने, “गाउँपालिकाको क्षेत्रमा नेपाल सरकारको आधिकारिक नापी नक्साअनुसार नै घर संरचनाहरू निर्माण भएका छन्। त्यसैले त्यहाँ डोजर चलाउनु आवश्यक छैन।”
अध्यक्ष तिगेलाले बस्ती संरक्षण र अनावश्यक भौतिक हस्तक्षेप नियन्त्रणका लागि संघीय सरकारलाई यस्तो सुझाव दिइएको बताए। गाउँ सभाले शिक्षा, रोजगारी, पूर्वाधार तथा खानेपानीजस्ता आधारभूत क्षेत्रमा केन्द्रित विभिन्न कार्यक्रमहरूलाई प्राथमिकता दिएको छ। साथै, सरकारी, गैरसरकारी, वैदेशिक तथा निजी क्षेत्रहरुमा रोजगारीमा नलागेका गाउँवासीहरुको तथ्याङ्क संकलन गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँ सभाले २०६३ असोज ३ यता जन्मेका र कक्षा ८ उत्तीर्ण नगरेका सबै बालबालिकालाई अनिवार्य रूपमा विद्यालय भर्ना गराउने नीति पनि निर्धारण गरेको छ। खानेपानी संकट समाधानका लागि गाउँ सभाले तत्कालीन र दीर्घकालीन रणनीति अघि सारेको छ। डीप बोरिङ संचालन निरन्तरता दिने, तमोर लिफ्टिङ योजना थालनीका लागि बजेट माग्ने तथा कन्सुवा र साख्मा लिफ्टिङ योजनाहरूलाई निरन्तरता दिने निर्णय भएका छन्। सडक पूर्वाधारतर्फ, गाउँ सभाले शुक्रबारे–शनिश्चरे–हाक्पारा सडक कालोपत्रे गर्न प्रदेश सरकारसँग माग गर्ने, ओख्रे–म्याङ्लुङ, शुक्रबारे–खैरेनी, दागपा–फुलेक–वसन्तपुर, शिधुवा–आङ्दिम–शुक्रवारे, धन्कुटा–परेवादिन–फोक्चे सिरान हुँदै म्याङ्लुङ जोड्ने सडक निर्माणका लागि पनि प्रदेश सरकारसंग माग सिफारिस गर्ने निर्णय गरेको छ।






