
१९ वैशाख, गोरखा । यति वैशाख २६ अर्थात मे ९ मा मनास्लु हिमाल आरोहणको ७० वर्ष पूरा भएको छ। उर्केन छिरिङ शेर्पा र जापानी नागरक तोशियो इमानिशीले सन् १९५६ मे ९ मा पहिलो पटक मनास्लु हिमालको सफल आरोहण गरेका थिए। विश्वकै आठौं अग्लो, ८ हजार १६३ मिटर उचाइको उक्त हिमालको सफल आरोहण भएको ७० औं वर्ष विविध कार्यक्रम गरेर धुमधामसँग मनाइने छ। नेपाल पर्यटन बोर्ड, मनास्लु संरक्षण क्षेत्र (एमक्याप) लगायत पर्यटन क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाको समन्वयमा चुमनुव्री गाउँपालिकाले कार्यक्रम आयोजना गर्न लागेको हो।
मनास्लु हिमालको फेदीमा रहेको सामागाउँमा कार्यक्रम हुने जानकारी शुक्रबार पत्रकार सम्मेलनमार्फत गाउँपालिका अध्यक्ष निमा लामाले दिइन्। पहिलो पटक मनास्लु हिमाल आरोहण गर्नेहरूसहित अन्य आरोहीहरूको मूर्ति अनावरण गरिने उनले बताइन्। ‘आरोहीहरूको हामीले मूर्ति बनाएका छौं,’ उनले भनिन्, ‘कार्यक्रमको अवसरमा ती मूर्ति अनावरण गरिनेछ।’ आरोहीहरूलाई सम्मान गर्ने कार्यक्रम पनि हुने जनाइन्। उत्तरी गोरखाको संस्कृति र परम्परालाई झल्काउने सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिने उनको भनाइ छ। वैशाख २७ गते पोखरामा मनास्लु हिमाल आरोहणका तस्बिरसहित मनास्लुको पहिलो सफल आरोहण सम्बन्धी वृत्तचित्र प्रदर्शन गरिनेछ। पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा निर्माण गरिएको मनास्लु हिमालको थ्री डी मोडलको पनि उद्घाटन हुनेछ, जनाएको छ।






