Skip to main content

बनेपाको चण्डेश्वरी जात्रा तस्विरमा

काभ्रेको बनेपामा प्रत्येक वर्ष चण्डेश्वरी जात्रा चण्डी पूर्णिमादेखि तीन दिनसम्म मनाइन्छ। जात्राको पहिलो दिन बिहान मत पूजा (चिराग यात्रा) गरिन्छ र विभिन्न बाजागाजासहित चिराग जलेश्वर महादेवसम्म विसर्जन गरिन्छ। जात्रामा बनेपाका सबै नेवार समुदायले भोज गर्ने, रथ तान्ने, र देवी मूर्तिलाई विभिन्न खटमा राखेर पूजाआजा गर्ने परम्परा छ।

काभ्रेको बनेपामा चण्डेश्वरी जात्रा चलिरहेको छ। प्रत्येक वर्ष यहाँका बासिन्दाले चण्डेश्वरी जात्रा मनाउने गर्दछन्। बनेपा सात गाउँमा हरेक वर्ष चण्डी पूर्णिमादेखि तीन दिनसम्म जात्रा मनाइन्छ। जात्राको पहिलो दिन बिहान सबेरै मत पूजा (चिराग यात्रा) गरिन्छ। धिमे, नाय्खिं, छुस्यालगायत विभिन्न बाजागाजासहित घरबाट चिराग बोक्दै बनेपाको लायकुमा जम्मा भई जलेश्वर महादेव (जसिगा)सम्म पुगेर विसर्जन गर्ने चलन छ।

हिजो (शुक्रबार) बिहानको पूजापछि बनेपालीले तीन दिनसम्म यो जात्रा भव्यरूपमा मनाउँछन्। जात्रा अवधिभर बनेपाका सबै नेवार समुदायका घरमा भोज गरिन्छ। जात्राको विधिअनुसार यहाँका घरहरू सफा गरिन्छन्। विशेषगरी पूर्णिमाको अघिल्लो दिन हनुमान ढोकाबाट ल्याइने तरबार (खड्ग)सहित जात्रामा सरकारको तर्फबाट पनि पूजा गर्ने परम्परा छ। बुढापाकाले टोलटोलमा बसेर भजन गाउने गर्दछन्।

जात्रा शुरु भएको दिन बनेपाको तीनधारामा बनाइएको पांग्रा नभएको खटलाई भेँडा बली दिइएपछि देवता नभएको खाली खटलाई विभिन्न बाजागाजासहित युवाहरूले बोकेर चण्डेश्वरी पुर्याउने चलन छ। रथ तानेर र घचेट्ने उत्साहमा अझ ऊर्जा थप्दै बजारका हरेक घरका झ्यालझ्यालबाट उनीहरूलाई हौसला दिइन्छ। हरेक घरमा तयार पारिएका प्रसाद झ्यालबाटै रथमा बिराजमान चण्डेश्वरीलाई चढाइन्छ।

पूर्णिमाको भोलिपल्ट देवी सहितको खटलाई विधिपूर्वक पूजाआजा गरेर पुन: बनेपाको बकुटोलतर्फ ल्याइन्छ। बकुटोललाई चण्डेश्वरीले दैत्यराज चण्डासुरको वध गरेपछि समाधि गरिएको स्थान भनेर विश्वास गरिन्छ। त्यहाँ रथ पुर्‍याउने र भव्य स्वागत सत्कारसहित बलीसहित पूजा गर्ने परम्परा छ। पछि खटलाई प्राचीन लायकू दरबारसम्म पुर्‍याइन्छ। त्यहाँबाट चण्डेश्वरी देवीको मूर्तिलाई अर्को सानो खटमा राखेर पुनः बकुटोलमै ल्याइन्छ। मूर्तिलाई सानो खटमा राखेर पुनः चण्डेश्वरीमा पुर्याएपछि जात्रा सकिने गर्छ। शक्तिकी देवी मानिएकी चण्डेश्वरी देवीको पूजा गर्न टाढाबाट भक्तजन आउने गर्दछन्। जात्रामा सहभागी हुन पाउँदा ‘मागेको पुग्ने’ विश्वास गरिन्छ। चण्डेश्वरी जात्रामा बनेपाका स्थानीय मानन्धर, भोछिभोया, राजवाहक लगायत सम्पूर्ण नेवार समुदायसँग प्रत्यक्ष सम्बन्ध हुने भएकाले यसलाई विशेष महत्वका साथ लिइन्छ।