
लेख जानकारीविनोद भण्डारी फेरि राष्ट्रिय टोलीको जर्सी लगाएर खेलमा फर्किन्छन् भनेर कमैले सोचेका थिए होला। ४ वर्षअघि नै एकदिवसीयबाट बिदा भइसकेका र २ वर्षयता टी-२० शैलीबाट पनि टाढिँसकेका यी ‘भेट्रान’ खेलाडीलाई प्रतिस्पर्धात्मक होडधौंडमा राष्ट्रिय टोलीमा फर्किन सहज विषय थिएन। तर ‘जिद्दी’ विनोदले प्रयत्न गरिरहेको देखियो। फ्रेन्चाइज प्रतियोगिता एनपीएलमा वा त्रिभुवन आर्मी क्लबलाई एकपछि अर्को प्रतियोगितामा सफलता दिलाएर होस्, अथवा नेपाल ‘ए’ को कप्तानको रूपमा टोलीको नेतृत्व गर्दा होस्, उनका बल्लरले निरन्तर रनको वर्षा गरिरहे। फलस्वरूप उनका जिद्दी देखेर राष्ट्रिय टोलीका चयनकर्ताहरू प्रभावित भए र विनोदलाई आइसीसी विश्वकप लिग-२ का लागि राष्ट्रिय टोलीमा पुनः बोलाइयो।
युवा खेलाडीबीच राष्ट्रिय टोलीमा स्थान पाउन घम्साघम्सी भइरहेका बेला ३६ वर्षका पाका विनोदले राष्ट्रिय टोलीमा ‘कमब्याक’ गरेर नयाँ इतिहास रचेका छन्। उनको पुनरागमन ‘फिस्स’ छैन, धमाकादार छ। कमब्याक खेलमै अर्धशतकीय पारी खेलेर उनले देखाए कि उनी अझै योग्य छन्। पूर्व खेलाडी दीपेन्द्र चौधरी भन्छन्, “निरन्तर साधना गरेमा जुनसुकै कुरा प्राप्त गर्न सकिन्छ भन्ने कुरा उनले आफ्नो उदाहरणले प्रमाणित गरे। यो नेपाली क्रिकेटका लागि सबैलाई प्रेरणाको स्रोत बन्नेछ।” विनोद अहिले ३६ वर्षका हुन्। यसअघि शक्ति गौचनले नेदरल्यान्ड्सविरुद्ध सन् २०१८ मा ३४ वर्षको उमेरमा राष्ट्रिय टोलीबाट खेलेको पाको खेलाडीको कीर्तिमान अब विनोदको नाममा सरेको छ।
धैर्यको परीक्षाविसं २०७९ श्रावण १ गते उनले राष्ट्रिय टोलीको जर्सी लगाएर खेल खेलेका थिए। त्यस समय विनोदले १३ रन मात्र जोड्न सकेका थिए भने नेपालले खेल ८ विकेटले गुमाएको थियो। त्यस्तैगरी टी-२० अन्तर्राष्ट्रियमा उनलाई सन् २०२४ पछि टोलीमा समावेश गरिएको छैन। कुशल भुर्तेल र आशिफ शेखले ‘प्रारम्भिक जोडी’ को रूपमा पहिचान बनाइसकेको बेला यी विकेटकिपर ओपनरको भूमिका छायामा परिरहेको थियो। राष्ट्रिय टोलीबाट त बाहिर परे तर मैदानबाट कहिले पनि बाहिर भएनन्। घरेलु प्रतियोगितामा खेलिने टी-२०, एकदिवसीय र दुई दिवसीय तीनैवटा शैलीका खेलमा विनोदले निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहे।






