Skip to main content

नेपालको यूएईमाथि संघर्षपूर्ण जित

नेपालले यूएईमाथि संघर्षपूर्ण जित हासिल गरेको छ। १८ वैशाख, काठमाडौं। नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु सिरिजमा यूएईमाथि ६ रनको संघर्षपूर्ण जित निकालेको छ। वर्षाका कारण डीएल मेथडअनुसार यूएईले ३८ ओभरमा २५५ रनको लक्ष्य पाएको थियो, तर उनीहरूले ८ विकेट गुमाएर २४८ रन मात्र बनाउन सके। यूएईका मोहम्मद शाहदादले सर्वाधिक ६५ रन बनाए पनि जितका लागि पर्याप्त नभए। शाहदादले हर्पित सिंहसँग तेस्रो विकेटका लागि ८० रनको साझेदारी गरेका थिए। सिंहले ४१ रन बनाएका थिए। आर्यशं शर्मा ३३, अदीब उसमानी १४, मोहम्मद जुहैब १, र कप्तान मोहम्मद वासिम ० रनमा आउट भए। खैजइमा विन तन्विरले २६ बलमा ४९ रन बनाए भने अक्षदीप नाथ ३२ बलमा २६ रनमा अविजित रहे।

बलिङमा नेपालका सन्दीप लाछिमानेले ३ विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले दुई–दुई विकेट लिए। त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २८९ रन बनाएको थियो। उपकप्तान दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरे। दीपेन्द्रले ९४ बलमा १०० रन बनाएका थिए। उनले १३ चौका र एक छक्का प्रहार गरेका थिए। करिब ४ वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका विनोद भण्डारीले पहिलो खेलमै अर्धशतक बनाए। भण्डारीले ७९ बलमा ५६ रनको योगदान दिएका थिए। गुल्सन झा ४४, ओपनर अर्जुन कुमाल ११, कप्तान रोहित पौडेल ३९, भीम सार्की ०, र अरिफ शेख ११ रनमा आउट भए। सोमपाल कार्मी ० रनमा अविजित रहे। बलिङमा यूएईका अजय कुमार र जुनैद सिद्दिकीले समान २ विकेट लिए भने हैदर अली र खैजइमा विन तन्विरले एक–एक विकेट लिए। अब नेपालले आफ्नो चौथो खेल मंगलबार ओमानसँग खेल्ने छ।