
१९ वैशाख, खोटाङ । खोटाङमा भिरबाट खसेर दुई जनाको मृत्यु भएको छ। बराहपोखरी गाउँपालिका–५ पौवासेरा क्षेत्रका ५२ वर्षका बमहादुर राई र ४० वर्षका मनीकुमार राई घटनास्थलमै भिरबाट खसेर मृत भेटिएका छन्। शनिबार दिउँसो दुवै जनाको स्थानीय ढकालेखोला भिरबाट खसेर मृत्यु भएको बराहपोखरी–५ का वडाध्यक्ष फौदराज राईले जानकारी दिएका छन्।
शुक्रबार बमबहादुर घोडा घाँस काट्न जाँदा आफ्नो खुकुरी हराएका थिए। त्यसै खुकुरी खोज्न शनिबार छिमेकी मनीकुमार राई पनि साथीको रूपमा साथमा गएका थिए। स्थानीयहरूको भनाइ अनुसार भिरबाट एकजना चिप्लिएपछि अर्काले समाउँदा दुवै जना भिरबाट खसेको अनुमान गरिएको छ। दुवै जनाको शव उदयपुरको बेलटारमा लगेर पोस्टमार्टम गर्ने तयारी प्रहरीले गरेको जनाएको छ।






