Skip to main content

कोहलपुर गोल्डकपमा रेसिङ सहाराले जितसँग गर्‍यो सुरुवात

बाँकेको कोहलपुरमा चौथो संस्करणको कोहलपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु भइसकेको छ। उद्घाटन खेलमा आयोजक रेसिङ सहारा क्लबले पञ्चकोशी युवा क्लबलाई २–१ गोलको अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको छ। प्रतियोगिताको विजेताले रु. ८ लाख र उपविजेताले रु. ४ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्।

खेलको २४ औं मिनेटमा रेसिङ सहाराका डिफेन्डर पेपेले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। त्यसपछि पहिलो हाफको ४४ औं मिनेटमा फागुराम चौधरीले अर्को गोल थप्दै अग्रता दुगुना बनाए। पहिलो हाफमा २–० को अग्रता बनाएको रेसिङ सहाराले खेलमा स्पष्ट दबाब कायम गरेको थियो। पाहुना टोली पञ्चकोशी युवा क्लबका खेलाडीहरूले खेलभरि केही राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन्।

दोस्रो हाफमा टोलीले सुधारिएको प्रदर्शन गर्दै आक्रमण बढायो। खेलको ८८ औं मिनेटमा विदेशी खेलाडी कुशाग्र उप्रेतीले सान्त्वना गोल फर्काए पनि हार टार्न पर्याप्त भएन। खेलमा उत्कृष्ट प्रदर्शन देखाएका रेसिङ सहारा क्लबका पेपे ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले ट्रफीसँगै नगद रु. ५,००० प्राप्त गरे।

२६ वैशाखसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु. ८ लाख र उपविजेताले रु. ४ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै विभिन्न विधामा उत्कृष्ट खेलाडीहरूलाई आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। खेलमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले फाइनलमा पुग्ने दुई टोलीलाई बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी गराइनेछ। साथै स्थानीय होमस्टेमा मौलिक खानपान र बसोबासको अनुभवसमेत उपलब्ध गराइने योजना रहेको छ। कोहलपुर नगरपालिका वडा नं. २ स्थित खेलमैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन नगर प्रमुख पूर्ण प्रसाद आचार्यले गरेका थिए। प्रतियोगिताको दोस्रो दिन आइतबार जस्ट जोन एफसी (नाइजेरिया) र रोयल फुटबल क्लब (कर्णाली) बीच खेल हुनेछ। खेल दिउँसो ४ बजे सुरु हुने जानकारी प्रतियोगिता संयोजक कर्ण बहादुर बस्नेतले दिएका छन्।