Skip to main content

बागमती प्रदेशले दोस्रो राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिपको उपाधि जित्यो

दोस्रो राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिपको उपाधि बागमती प्रदेशले जितेको छ। फाइनलमा बागमतीले सुदूरपश्चिमलाई १४–८ अंकले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि रक्षा गरेको छ। प्रतियोगितामा सात प्रदेश र विश्वविद्यालय गरी आठ टोली सहभागी थिए। बागमतीले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।

२० वैशाख, काठमाडौं। डल्लुस्थित भूकम्प स्मृति बहुउद्देश्यीय कभर्ड हलमा आइतबार सम्पन्न फाइनल खेलमा बागमतीले सुदूरपश्चिमलाई पराजित गर्यो। साविक विजेता बागमतीले लगातार दोस्रोपटक च्याम्पियन हुँदै उपाधि रक्षा गरेको हो। सेमिफाइनलमा बागमतीले कोशी प्रदेशलाई र सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई पराजित गरी फाइनलमा प्रवेश गरेका थिए।

प्रतियोगितामा लुम्बिनी तेस्रो स्थानमा रह्यो। आयोजक समितिका संयोजक तथा नेपाल बेसबल तथा सफ्टबल संघका उपाध्यक्ष सुरेन्द्र थपलियाले जानकारी दिएका छन्। उपविजेता सुदूरपश्चिमले २० हजार र तेस्रो स्थान लुम्बिनीले १० हजार रुपैयाँ पुरस्कार पाएको छ। चौथो स्थान हासिल गरेको कोशी प्रदेशले सान्त्वना पुरस्कार स्वरूप १० हजार रुपैयाँ प्राप्त गरेको छ। च्याम्पियन बागमतीका दीपेश माझी उत्कृष्ट खेलाडी घोषित भएका छन्।