Skip to main content

आन्ध्र महासागरमा यात्रारत पानीजहाजमा हन्टाभाइरसको प्रकोप फैलिएको छ

आन्ध्र महासागरमा यात्रारत एमभी होन्डियस क्रूज पानीजहाजमा हन्टाभाइरसको प्रकोप फैलिएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले तीन जनाको मृत्यु भएको पुष्टि गरेको छ। डब्लुएचओले एक जनामा संक्रमण पुष्टि गरेको र पाँच जनालाई शंकास्पद बिरामीको रूपमा रिपोर्ट गरेको छ। दक्षिण अफ्रिकाले बेलायती संक्रमित यात्रुलाई आईसीयूमा राखेर उपचार गरिरहेको छ।

२१ वैशाख, काठमाडौं। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रूज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का व्यक्त गरिएको छ। यस प्रकोपका कारण अहिले सम्म तीन जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ। अर्जेन्टिनाबाट केप भर्डे जाने क्रममा रहेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि विश्व स्वास्थ्य संगठनले एक जनामा संक्रमण पुष्टि गरेको र अन्य पाँच जनालाई शंकास्पद बिरामीको रूपमा सूचीबद्ध गरेको छ।

दक्षिण अफ्रिकाको स्वास्थ्य मन्त्रालयले एक बेलायती यात्रुमा संक्रमण पुष्टि गरेको र उनलाई अहिले आईसीयूमा राखेर उपचार भइरहेको बताएको छ। यसले जहाजमा रहेका अन्य यात्रुहरूमा पनि त्रास फैलिएको छ। मृत्यु हुने पहिलो व्यक्ति ७० वर्षका पुरुष हुन्। उनलाई जहाजमै अचानक ज्वरो, टाउको दुखाइ र पेट दुख्ने लक्षण देखा परेको थियो र सेन्ट हेलेना टापुमा पुगेपछि उनको मृत्यु भएको थियो।

थोरै समयपछि उनका ६९ वर्षीया पत्नीलाई पनि सोही लक्षण देखा परेपछि उनलाई दक्षिण अफ्रिकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले पुष्टि गरेका छन्। विश्व स्वास्थ्य संगठनले यस घटनालाई गम्भीरतापूर्वक लिएर आन्ध्र महासागर क्षेत्रमा भइरहेको जनस्वास्थ्य संकटको अनुसन्धान र सहायता सुरु गरेको जनाएको छ। डब्लुएचओले जहाज संचालक र सदस्य राष्ट्रहरूसँग समन्वय गरी संक्रमित यात्रुको उद्धार र बाँकी रहेको जोखिम मूल्याङ्कनमा समेत सहयोग गरिरहेको छ।