साबिक नेपाली महिला फुटबल कप्तान सावित्रा भण्डारी कतार एवं नेपाली फुटबलको अवस्थाबाट निराश

नेपाली महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी घुँडाको शल्यक्रियापछि कतारको एसपेटार अस्पतालमा पुनःस्थापना (रिहाब)का लागि पुगेकी छिन्। साम्बाले सामाजिक सञ्जालमार्फत समर्थक र सहयोगीहरूलाई धन्यवाद दिँदै आफ्नो उपचार राम्रोसँग अगाडी बढिरहेको जानकारी गराएकी छन्। उनले नेपाली फुटबलको वर्तमान अवस्थाबाट निराशा व्यक्त गर्दै चाँडै सुधार आउने आशा व्यक्त गरेकी छन्।
साम्बाले कतारको एसपेटार अस्पतालमा केही महिना बसेर उपचार र रिहाब प्रक्रिया अघि बढाउने योजना बनाएकी छन्। उनले सामाजिक सञ्जालमार्फत् समर्थक, क्लब र सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आफूले भइरहेको उपचार प्रक्रियामा राम्रो प्रगति भइरहेको जानकारी दिइन्। तर उनले नेपालमा फुटबलको वर्तमान अवस्था देखेर निराशा व्यक्त गरिन्।
साम्बा अस्ट्रेलियन ‘ए’ लिगमा वेलिङटन फोनिक्सबाट खेल्ने क्रममा गत पुसमा घाइते भएकी थिइन्। गोलरक्षकसँग ठक्कर खाँदा उनको दायाँ घुँडाको एसीएल टियर भएको थियो। करिब दुई महिना पछि फागुनमा साम्बाले उपचारमा नेपाल फुटबल संघ (एन्फा) ले सहयोग नगरेको गुनासो गर्दै आर्थिक सहयोगको अपिल गरेकी थिइन्। उनकाे अपिलपछि विश्वभरका नेपाली समर्थकहरूले आर्थिक सहयोग जुटाएका थिए। त्यसपछि न्युजिल्याण्डको अकल्यान्डमा डाक्टर साइमन र उनको टोलीले सफल शल्यक्रिया गरेका थिए। खाडी क्षेत्रमा अवस्था सहज नभएकाले कतारस्थित एसपेटार अस्पतालसम्म पुग्न कठिन भएको कारण न्युजिल्याण्डमै उपचार गरिएको थियो।






